काठमाडौं । झापाको सुरुंगामा नक्कली पोटास मल बनाइदै गरिएको घटना सार्वजनिक भएको छ।
प्रहरीले नक्कली मल बनाउने ठाउँबाट नक्कली पोटास मल बरामदसमेत गरेको छ।
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गास्थित तिलक पौडयालको घरबाट नुनमा रातो माटो मिसाएर बनाएको नक्कली पोटास मल बरामद गरेको हो।
विक्रीका लागि तयारी अवस्थामा राखिएको १६ बोरा तयारी नक्कली पोटास मल बरामद गरिएको इला प्रहरी कार्यालय सुरुंगाले जनाएको छ।
गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले केही बोरा नुन र रातो माटो, बोरा सिलाउने सियो धागो र करिव ५० वटा खाली नुनका बोरा फेला पारेको छ। सुरुङ्गा बजारमा रहेको भट्टराई कृषि भण्डारमा विक्रीका लागि राखिएको १३ बोरा नक्कली तयारी पोटास मलसमेत फेला परेको प्रहरीको भनाइ छ।
प्रहरीलाई देख्नासाथ नक्कली पोटास मल बनाउने ४ जनाको समूह भागेको थियो। प्रहरीले घरधनी, अटोरिक्सा चालकसमेत रहेका तिलक पौडेल र नक्कली मल विक्री गर्दै आएका भट्टराई कृषि भण्डारका कमल भट्टराईलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बिर्तामोड पठाएको छ।