झापा । झापाको गौरादह नगरपालिका वडा नं. ५ मा पाँच जनाको मिलेमतोमा एक पुरुषको हत्या भएको रहस्य खुलेको छ।
ती पाँच जनाले ४६ वर्षीय मबेशिर हुसेन मियाँको हत्या भएको खुलासा भएको हो ।
कार्तिक ११ गतेदेखि मबेशिर घरबाट हराइरहेका थिए । उनको परिवारले खोजतलास गरिपाउँ भनी प्रहरीमा निवेदन दिएको थियो ।
प्रहरीले कार्तिक २६ गते स्थानीय महमद सद्दामको घर खानतलासी गर्दा सेफ्टी ट्यांकीभित्र मबेशिरको शव भेटेको छ ।
स्थानीय महमद सद्दाम (वर्ष ३१), निजकी पत्नी समेरन खातुन (वर्ष २८), महमद सुलेमान (बर्ष २६), निजकी पत्नी रुक्सार खातुन (वर्ष २२) र कुर्समान खातुन (वर्ष ३८)लाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कार्तिक २६ गते महमद सद्दामको घर कोठाको झ्यालको पल्ला तथा ग्रीलहरुमा रगत जस्तो रातो पदार्थको छिटाहरु देखिएपछि हुसेनको हत्या गरिएको हुनसक्ने आशंकामा सद्दामको घर खानतलासी गर्ने क्रममा सेफ्टी ट्यांक भित्र दुर्गन्धित अवस्थामा हुसेनको शव फेला परेको थियो।
घटनास्थलबाट घटनामा प्रयोग भएका घरेलु धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) प्रहरीले बरामद गरेको छ।
हत्याको आरोपमा पक्राउ परेका पाँचै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।