२७ चैत, विर्तामोडः प्रथम रमपम झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । शनिबार भएको फाइनलमा झापा ११ लाई १–० गोल अन्तरले हराउदै आर्मीले इतिहास रच्दै झापा गोल्डकपको उपाधि हात पारेको हो । उपाधीसँगै आर्मीले मोफसलकै सबैभन्दा ठुलो पुरस्कार राशी हात पार्न सफल भएको छ ।
आर्मीले नगद ६ लाख रुपैयाँ पाएको छ भने उपबिजेता झापाले ३ लाखमा चित्त बुझाएको छ । डोमालाल राजबंशी रगशालामा भएको खेलमा झापाले आर्मी बिरुद्ध थुप्रै मुभ बनाएपनि गोल गर्न भने सकेन । आर्मीको डिफेन्स मजबुत भएका कारण झापा गोल गर्नबाट बञ्चित रहयो । आर्मीका लागि एकमात्र गोल चर्चित स्ट्राइकर नवयुग श्रेष्ठले गरे ।
श्रेष्ठले पहिलो हाफको १८ मिनेटमा बिमल रानाको क्रसमा सुन्दर गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । यो गोल्डकपमा श्रेष्ठले गरेको एकमात्र गोलले आर्मीलाई उपाधि हात पार्न सफल बनायो । खेल अवधिभर दुवै टीमका खेलाडीले थुप्रै आक्रमण गरेपनि गोलमा परिणत हुन सकेन । झापाले पटक पटक आर्मीको गोलपोष्टमा आक्रमण गरेको थियो ।
झापाका सबै आक्रमण आर्मीका भरपर्दा गोलकिपर बिकेश कुथुले बिफल बनाइदिएका थिए । १–० को अग्रता लिएको आर्मीले दोश्रो हाफमा रक्षात्मक खेलेको थियो । आर्मीका जितेन्द्र कार्की, दिपक गुरुङ्ग र सन्तोष तामाङ्गले झापाका कुनै पनि स्ट्राइकरलाई खुलेर खेल्न दिएका थिएनन । खेल अवधिभर रेफ्री लब खत्रीले आर्मीका नवयुग श्रेष्ठ र झापाका कप्तान प्रवेश कटवाललाई पहेंलो कार्ड देखाएका थिए ।
प्रतियोगिताको म्यान अफ द म्याच आर्मीका लागि गोलकर्ता नवयुग श्रेष्ठ घोषित भए । गोल्डकप समापन कार्यक्रममा उदियमान खेलाडीका रुपमा मनाङ मस्र्याङदी क्लबका बिशाल राई, साग गेम जिताउन सफल झापाका खेलाडी अनन्त तामाङ्गलाई जनही २५ हजार रुपैंयाँ सहित सम्मान गरिएको थियो ।
प्रतियोगिताको म्यान अफ द सिरिज झापाका स्ट्राइकर कर्ण लिम्बु घोषित भए । उनले होन्डा कम्पनिको ट्विस्टर मोटरसाइकल हात पारे । यसैगरी सर्वाधिक गोलकर्ता समेत रहेका लिम्बुले नगद २५ हजार रुपैयाँ पाए । उत्कृष्ट गोलकिपर आर्मीका बिकेस कुथू, डिफेन्डर झापाका देबेन्द्र तामाङ्ग, मिडफिल्डर झापाकै योगेश गुरुङ्ग, फवार्ड आर्मीका नवयूग श्रेष्ठ, कोच आर्मीका चुनबहादुर थापा उदियमान खेलाडी झापाका सञ्जोग राईले जनही नगद १५ हजार रुपैंया र फेयर प्ले अवार्ड नेपाल पुलिस क्लबले प्राप्त गरेको छ ।
विजेता टीमको नगद पुरस्कार राशि विर्तामोड सहारा नेपाल साकोशले उपलब्ध गराएको हो भने उपविजेता पुरस्कारको नगद राशि कतारमा व्यापार गर्ने राजन श्रेष्ठले उपलब्ध गराएका हुन् ।
Facebook Comments Box