विराटनगर । हिजो बेलुका मोरङ, झापा र उदयपुरमा छुट्टाछुट्टै भएको सवारी दुर्घटनाबाट ७ जनाले ज्यान गुमाएका छन् भने ७ जना घाइते भएका छन् ।
हिजो बेलुका ६ बजे मोरङको केराबारी गाउँपालिका ९ बेलचौरीमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को ४० प १७२७ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जादै गरेको बा.१० च.४३०० नम्बरको स्कारपियो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जनामध्ये दुईजनाको घटनास्थलमानै र एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक लेटाङ नगरपालिका २ का ३० बर्षीय कमल कार्की र पछाडी सवार पथरीशनिश्चरे नगरपालिकाका ५५ बर्षीय तिलक बहादुर सुबेदीको घट्नास्थलमा मृत्यु भएको हो भने पछाडि सवार लेटाङ नगरपालिका २ कि ४५ बर्षीया सिता कार्की घोपा धरानमा उपचारको क्रममा बेलुका सवा ७ बजे मृत्यु भएको हो ।
गाडी र गाडी चालक लेटाङ नगरपालिका २ का ४७ बर्षीय पुष्प बहादुर मगर इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको छ ।
यस्तै, हिजो बेलुका पौने ६ बजे मोरङ रंगेली नगरपालिका ६ टकुवा-पिपल चौक भित्री सडक खण्डमा साईकल यात्री मोरङ सुनवर्षी नगरपालिका ६ पटियापाडा का ३० बर्षीय सत्रुघन साहको साइकल अनियन्त्रित भइ दुर्घटना हुँदा घाइतेलाई उपचारको लागि रंगेली अस्पताल लाने क्रममा मृत्यु भएको छ ।
यस्तै, हिजो बेलुका ६ बजे उदयपुरको त्रियुगा नगरपालिका ११ मेन चोक स्थितमा पूर्व जादै गरेको स १ ह १६२० नम्बरको अटो र पिपलचोकबाट पूर्वतर्फ जादै गरेको को १९ प ९६४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार त्रियुगा नगरपालिका ११ का ८५ बर्षीय कुल प्रसाद भण्डारी रहेका छन् । उनको न्युरो बिराटनगरमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको हो भने मोटरसाइकल चालक सप्तरी कंचनपुर नगरपालिका १२ का ५२ बर्षीय कमल प्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका ७ का ४२ बर्षीय नर बहादुर कार्की सामान्य घाइते भएका छन् ।
उनीहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।
यस्तै, हिजो बेलुका ६ बजे झापाको बिर्तामोड नगरपालिका ६ गिरीबन्दु टि स्टेट अगाडि पूर्व-पश्चिम राजमार्गमा नम्बर नखुलेको रातो रंगको २२० सिसि पल्सर मोटरसाईकल र बिपरित दिशा तर्फ जादै गरेको प्र १-०१-०१४ प ६००७ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना स्कुटीमा सवार स्कुटी चालक मेची नगरपालिका १० का ४२ बर्षीय डिल्ली कार्की, पछाडी सवार उनका छोरा १६ बर्षीय मनिस कार्की र अर्को मोटरसाईकल पछाडी सवार झापा हल्दिबारी गाऊपालिका २ का २१ बर्षीय पिजेश लामा घाइते भएका छन्।
उनीहरूलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । घाइतेमध्ये स्कुटी पछाडी सवार रहेका मनिसको राती ९ बजे उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा संलग्न रहेको अर्को मोटरसाइकल चालक झापा हल्दिबारी गाउँपालिका २ का २५ बर्षीय उमेश लामा मोटरसाइकल सहित फरार रहेकाले खोज तलास भइरहेको छ ।
यस्तै हिजो राति साढे ११ बजे झापा मेचिनगर नगरपालिका १३ तेलीबारी स्थित पुर्व-पश्चिम राजमार्गमा पूर्वतर्फ जादै गरेको प्रदेश-१-०४-०१४प.३३४५ नम्बरको मोटरसाईकल र सोही दिशातर्फ जादै गरेको प्रदेश १-०४-००१ प ३९९५ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाइते भएका थिए ।
घाइते हुनेहरुमा ३३४५ नम्बरको मोटरसाइकल चालक झापा मेचीनगर नगरपालिका ८ का २१ बर्षीय अनिष गिरी, पछाडि सवार सोही स्थानका १८ बर्षीय अभिषेक श्रेष्ठ, ३९९५ नम्बरको मोटरसाईकल चालक मोरङ उर्लाबारी नगरपालिकाका २१ बर्षीय निकेश शिवकोटी र पछाडि सवार झापा मेचीनगर नगरपालिका ८ का २१ बर्षीय प्रबीण मेचे रहेका छन् ।
घाइतेमध्ये अभिषेक श्रेष्ठको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको छ भने बाँकी ३ जना घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।