२५ चैत, विर्तामोडः राजधानी बाहिरको सर्वाधिक पुरस्कार राशि भएको झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा झापा र आर्मी भिड्ने भएका छन् । विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको विहीबार भएको अन्तिम सेमीफाइनल खेलमा मनाङ मस्र्याङदी क्लबलाई १–० गोल अन्तरले हराउँदै त्रिभुुवन आर्मी क्लब फाइनलमा पुगेको हो । झापा बुधबार भएको पहिलो सेमीफाइनलमा थ्री स्टारलाई हराउँदै फाइनलको यात्रा तय गरेको छ । फाइनल खेल चैत २७ गते शनिबार डोमालाल राजवंशी रंगशालामा हुनेछ ।
विहीबार भएको अन्तिम सेमी फाइनल खेलमा आर्मीका तर्फबाट जर्सी नम्बर ३० का अमित तामाङले गोल गरेका थिए । उनको गोल नै निर्णायक गोल भएको थियो । उनले खेलको ११ औं मिनेटमा मनाङ विरुद्ध गोल गरेका थिए । तामाङले पोष्टमा प्रहार गरेको बल डि बक्स नजिकै मनाङका बिदेशी खेलाडी मौसाले ह्याण्ड गरेपछि पाएको फ्रि किकलाई उनले नै सुन्दर गोलमा परिणत गरेका थिए । मनाङको अधिकांश प्रहार आर्मीका गोल रक्षक विकेश कुथुले गोल हुनबाट जोगाएका थिए । धेरै प्रहार गोल पोस्टमा लागेर बाहिर गएको थियो ।
मनाङका टिम कोच छिरिङ लोपसाङ गुरुङ तथा म्यानेजर पेम्वा गुरुङले रेफ्रीले फल नहेरेको भन्दै खेल भइरहेकै बेलामा आपत्ति गरेका थिए । निर्धारित ९० मिनेट र अतिरिक्त पाँच मिनेटको समय सकिए लगत्तै उनीहरुले रेफ्री नविन्द्र महर्जनमाथि हातपातको प्रयास गरेका थिए । प्रहरीले उनीहरुलाई तितर वितर बनाएको थियो । विहीबारको खेलको म्यान अफ द म्यान आर्मीका जर्सी नम्बर १२ का खेलाडी विश्व अधिकारी घोषित भए ।
जीतपछि पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै आर्मीका प्रशिक्षक चुन बहादुर थापाले आर्मीले एकै रफ्तारले खेलेका कारण जित हाँसिल गर्न सफल भएको बताए । दोहोरो पहेंलो कार्डका कारण यो खेल गुमाएका स्टार खेलाडी भरत खवासको अनुपस्थिती खड्किएको उनले बताए । फाइनलमा भरत सहितको टीमका कारण जीत हाँसिल गर्न सफल हुने दावी उनले गरे । मनाङले पाएको अवसर गोलमा परिणत गर्न नसक्दा हार ब्यहोर्नु परेको प्रशिक्षक छिरिङ लोपसाङ गुरुङले बताए । उनले यो खेल रेफ्री नविन्द्र महर्जनको गलत निर्णयका कारण गुमाउनु परेको आरोप लगाए । महर्जनले नियतबस मनाङ बिरुद्ध निर्णय गर्दा दवावमा परेको प्रतिक्रिया उनले दिए । यसअघि समेत महर्जनले खेलाएका तीनवटा खेलमा मनाङ पराजय भोग्नु परेको उनले बताए ।
गत चैत १८ गतेबाट सुरु भएको झापा गोल्डकपमा दुइवटा भारत र नेपालका आठवटा टिम सहभागी थिए । प्रतियोगितामा झापा, रुपन्देही, कास्की, त्रिभुवन आर्मी, नेपाल पुलिस, थ्रीस्टार, सशस्त्र प्रहरी र मनाङ मस्र्याङदी क्लब सहभागी थिए । प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउनेछन् ।