२४ चैत, विर्तामोडः सडन डेथमा कप्तान प्रवेश कटवालको गोलसँगै रमपम झापा ११ प्रथम रमपम झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेल अवधिभरमा दुबै तर्फबाट १–१ गोल भएर थपिएको समयमा समेत थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा समेत ३–३ गोलको बराबरी भएपछि खेल सडन डेथमा गएको थियो ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोश्रो हाफको ५४ औं मिनेटमा थ्री स्टारका सुनिल बलले प्रहार गरेको कर्नरमा शिब श्रेष्ठले सुन्दर गोल गर्दै खेलमा अग्रता लिएको थियो । हजारौं झापाली समर्थकको दवावमा रहेको झापाले खेलको ७५ औं मिनेटमा गणेश खड्काको क्रस पासमा चर्चित स्ट्राइकर कर्ण लिम्बुले हेड मार्फत गोल गरि खेल १–१ को बराबरीमा पु¥याएका थिए ।
दुबै तर्फबाट पटक–पटक आक्रमण भएपनि समय अवधीभर थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा गएको थियो । थपिएको १५ मिनेटमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा झापाका तर्फबाट दिलेन लोक्तामको प्रहार बाहिरिएको थियो । यस्तै सञ्जोग राइको प्रहार थ्री स्टारका गोल रक्षक एलन न्यौपानेले बचाउ गरेका थिए । झापाको तर्फबाट योगेश गुरुङ्ग, रबी थापामगर र कर्ण लिम्बुले गोल गरेका थिए ।
थ्री स्टारका तर्फबाट बिजय धिमाल, शिब श्रेष्ठ र दिपक राइको प्रहार गोलमा परिणत भएको थियो । यस्तै राजेन धिमालको प्रहार झापाका गोल रक्षक किशोर गिरीले बचाउ गरेका थिए भने बिदेशी खेलाडी भिक्टार अमोबीको प्रहार पोष्टमा लागेर बाहिरिएको थियो । टाइब्रेकरमा पनि ३–३ गोलकाृे बराबरी भएपछि खेल सडन डेथमा गएको थियो ।
सडन डेथमा झापाका कप्तान प्रवेश कटवालले गोल गरेका थिए भने थ्री स्टारका सरोज दाहालको प्रहार झापाका गोल रक्षकले सुन्दर बचाउ गरेपछि झापाले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । खेलको म्यान अफ द म्याच झापाका कर्ण लिम्बु घोषित भए । उनले साउदी अरबमा रहेका झापा ११ का फुटबल फ्यानले प्रायोजन गरेको नगद ५ हजार सहित ट्रफि प्राप्त गरे । यस्तै गोल गर्न सफल झापा ११ का सबै खेलाडीलाई बिर्तामोडका ब्यबसायी एसपी प्रसाइले जनहि २ हजार रुपैंयाँ पुरस्कार प्रदान गरेका थिए ।
जीत पछि पोष्ट म्याच कन्फ्रेन्समा कुरा गर्दै झापा ११ का प्रशिक्षक भगिरथ आलेले पहिलो रोजाइका दुइजना खेलाडी घाइते भइ खेल्न नसकेकाले थ्री स्टारको दवाव झेल्नु परेको बताए । उनले थ्री स्टारसँगको खेल बराबरी झै भएको प्रतिक्रिया दिंदै खेल अवधिमै सहायक रेफ्रीको गलत निर्णयले गर्दा गोल भएको पनि रद्द हुन पुगेको बताए । खेलको ८४ औं मिनेटमा गोल किपरबाट रिवाउन्स बललाई कर्ण लिम्बुले गरेको गोललाई सहायक रेफ्रीले अफसाइड दिएका थिए ।
थ्री स्टारका प्रशिक्षक सन्जिब बुढाथोकीले आफ्ना डिफेन्सको सानो गल्तीले सिल्ली गोल खान पुगेको बताए । उनले झापाको खेलको प्रशंसा गर्दै झापा बलियो टिम भएको बताए । उनले आजको जितमा झापालाई दर्शक र घरेलु मैदानले पनि साथ दिएको बताए । झापा ११ का कप्तान प्रवेश कटुवालले आफूहरुले झापाली दर्शकको चित्त नदुखाएको प्रतिक्रिया दिए ।
बिहीबारको दोश्रो सेमिफाइनल खेल मनाङ मस्र्याङदी क्लब काठमाण्डौ र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।
Facebook Comments Box