झापा । रक्सीले मातेका चालकले चलाएको अनियन्त्रित बसले सडकमा गुडिरहेका ६ वटा सवारी सधानलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन्।
झापाको बिर्तामोड-चारआली सडकमा बुधबार साँझ उक्त अनियन्त्रित बसले सडक़मा गडिरहेका ६ वटा सवारी साधनलाई ठक्कर दिएको हो।
पश्चिमबाट पूर्वतर्फ आइरहेको मे-१-ख २५७१ नम्बरको सगरमाथा यातायातले ६ वटा सवारीसाधनलाई ठक्कर दिएको थियो।
रक्सीले मातेका चालकले सवारी साधनलाई ठक्कर दिँदै भाग्ने क्रममा उक्त बसको ठक्करबाट ६ जना घाइते भएका इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडले जनाएको छ।
बसको ठक्करबाट मे ५ प ९००२ र मे ९ प ७०९२ नम्बरको मोटरसाइकलमा सवार चुलाचुली १ का ३५ वर्षिय बिजय बिक र उनकी श्रीमती २७ वर्षिया प्रमिला बिक घाइते भएका छन् । उनीहरूको खुट्टा भाँचिएको छ।
त्यसैगरी मे १ ज ८७४ नम्बरको म्याजिक भेनलाई ठक्कर दिँदा त्यसमा सवार बिर्तामोड ५ की बिमला भट्टराई, अर्जुनधारा ६ की कल्पना अधिकारी र बिर्तामोड ११ का देबराज राई घाइते भएका छन्। उनीहरूको टाउकोमा चोट लागेको छ।
बसले मे १ ज १९८१ नम्बरको बोलेरो जीप र प्रदेस न १- ० १- ००१ ख ३५३६ नम्बरको ट्रकलाई समेत ठक्कर दिएको थियो।
घाइते सबैको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बसका चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।