फिदिम । पाँचथरको फिदिममा भएको बस दुर्घटनाका घाइतेको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजानका लागि नेपाली सेनाको हेलिकप्टर फिदिमतर्फ उडेको छ।
प्रदेश १ का पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोका अनुसार नेपाली सेनाको हेलिकप्टर पाँचथरतर्फ उडिसकेको हो।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘पाँचथर बस दुर्घटनामा परि घाइतेहरुलाई उपचारको लागि बिपि अस्पताल धरान लैजान नेपाली सेनाको एम आइ १७ हेलिकप्टर ब्यबस्था गरि फिदिम तर्फ उडिसकेको जानकारी गराउछु।‘
पाँचथरबाट झापा आउँदै गरेको बस दुर्घटना हुँदा घाइते भएका चार जनाको मृत्यु भएको बताइए पनि प्रहरीले तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ।
उनीहरूको उपचारको क्रममा मृत्यु भएको पाँचथर फिदिमका पत्रकार खबिन लुईंटेलले जानकारी दिएका हुन्। उनीहरूको नाम तथा ठेगाना खुलिसकेको छैन।
घाइतेमध्ये अझै केहीको अवस्था चिन्ताजनक रहेकाले धरान लैजाने तयारी गरिएको हो।
उनीहरूको पाँचथरको समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
पाँचथरको फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाको बिर्तामोडका लागि छुटेको बस सोमबार दुर्घटना भएको हो। को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुरमा सडकबाट झरेको हो।
अर्को सवारी साधनलाई उछिन्ने क्रममा उक्त बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ। उक्त बसमा यात्रा गरिरहेका ६२ यात्रु घाइते भएका छन्।