२३ चैत, विर्तामोडः राजधानी बाहिरको सर्वाधिक नगद पुरस्कार राशि रहेको झापा गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा मनाङ मस्र्याङदी क्लबले रुपन्देहीमाथि सहज जीत हासिल गरेको छ । मनाङका खेलाडी अफिज ओलावालेको ह्याट्रिकसंगै रुपन्देहीलाई ४–१ गोलको अन्तरले हराउँदै मनाङ सेमीफाइनलमा प्रवेश गरेको हो । सेमीफाइनलमा मनाङले विहीबार नेपाल आर्मीको सामना गर्नेछ ।
खेलको ३३ औं मिनेटमा मनाङका जर्सी नम्बर १८ का अफ्रिकन मूलका खेलाडी सिसोकोले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४३ औं मिनेटमा मनाङकै जर्सी नम्बर ९९ का अर्का अफ्रिकन मूलका अर्का खेलाडी अफिज ओलावालेले अर्काे गर्दै खेललाई २–० को नतिजामा पुर्याए ।
खेलको दोस्रो हाफको ५० औं मिनेटमा पुनः जर्सी नम्बर ९ का खेलाडी विश्वास श्रेष्ठको पासमा उनले नै अर्काे गोल थपे । खेलको ६३ औं मिनेटमा ओलावालेले आफ्नो ह्याट्रिक पूरा गरे । खेलको सुरुवातदेखि नै रुपन्देही मनाङको दबाबमा परेको थियो । खेल सकिन एक मिनेट बाँकी रहँदा रुपन्देहीका तर्फबाट जर्सी नम्बर ७ का खेलाडी पुकार गहतराजले एक गोल फर्काएका थिए ।
रुपदेहीका टिम कोच दयाराम सापकोटाले आफ्नो टिमको फिनिसिङ लाइन कमजोर भएका कारण खेलको नतिजा आफ्नो टिमको पक्षमा नआएको बताए । उनले जर्सी नम्बर ५ का आफ्नो टिमका अफ्रिकन मूलका खेलाडी लियोनेलबाट अपेक्षा अनुसारको खेल प्रदर्शन नभएकाले आफ्नो टिमले हार व्यहोरेको बताए । सापकोटाले भने, ‘हाम्रो डिफेन्स र फिनिसिङ लाइन दुइवटै कमजोर रह्यो ।’
आफ्नो टिमको सहज जीतपछि मनाङका कोच छिरिङ लोपसाङ गुरुङले आफ्ना खेलाडीले पूर्ण मेहेनतका साथ खेलेको प्रतिक्रिया दिए । उनले रुपन्देही कमजोर टिम भनेर आफ्नो टिमले नसोची खेलेको बताए । गुरुङले भने, ‘हामी प्रतिस्पर्धीलाई कहिले पनि कमजोर ठान्दैनौ । त्यसैले खेलाडीको धेरै मेहेनत गरेका छन् ।’ उनले रुपन्देहीको डिफेन्स कमजोर रहेका कारण उसले हार व्यहोर्नु परेको बताए । तर अब नेपाल आर्मीसंग सेमीफाइनल परेको हुनाले रणनीति बदल्ने उनले बताए । गुरुङले भने, ‘विभागीय टोली आर्मी धेरै दह्रो भएका कारण अबको रणनीति परिवर्तन गर्न आवश्यक छ ।’ उनले खेल मैदान राम्रो भएका कारण पनि आफ्ना खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिए ।
झापा गोल्डकप फुटबल प्रतियोगिताका खेलहरु झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भइरहेको छ । राष्ट्रिय खेलकुद परिषदका बरिष्ठ फुटबल प्रशिक्षक तथा झापा ११ का कोच भगिरथ आले मामाले रुपन्देहीको कमजोर फिनिसिङ लाइनकै कारण उसले प्रतियोगिताबाट बाहिरिनु परेको बताए । उनले मनाङले आर्मीको सामना गर्नुपर्ने भएकाले मनाङका लागि जीत त्यति सहज नहुने बताए । उनले भने, ‘पहिलाका खेलहरु हेर्ने हो भने मनाङले आर्मीलाई हराउँदै आएको छ । तर अहिले आर्मी पनि कमजोर छैन ।’
मंगलबारको खेलको म्यान अफ द म्यान मनाङका खेलाडी ओलावाले घोषित भए । बुधबारको पहिलो सेमीफाइनल खेल झापा ११ र थ्रीस्टारविच हुनेछ । प्रतियोगिताको फाइनल खेल चैत २७ हुनेछ । विजेताले नगद ६ लाख पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।