२२ चैत, विर्तामोडः राजधानी बाहिरको सर्वाधिक नगद पुरस्कार भएको झापा गोल्डकप फुटबलको तेस्रो क्वाटर फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै थ्रीस्टार विजयी बनेको छ । विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको खेलमा सशस्त्रलाई १–० ले थ्रीस्टार सेमीफाइनलमा प्रवेश गरेको हो ।
खेलको दोस्रो हाफ अन्त्य ४३ औं मिनेटमा थ्रीस्टारका बिदेशी खेलाडी जर्सी नं ९८ का सेगनले निर्णायक गोल गरे । खेलको पहिलो हाफमा सशस्त्रले प्रहारको अनेकौं मौका पाए पनि उसका खेलाडीको उक्त मौकालाई सार्थक बनाउन सकेनन् । आधा दर्जन भन्दा बढी प्रहार गोलपोस्ट बाहिरै गए ।
खेलको दोस्रो हाफमाको सुरुवातदेखि नै थ्रीस्टारले सशस्त्रलाई दबाबमा राख्यो । तर दोस्रो हाफमा थ्रीस्टारका पटक पटकका प्रहार सशस्त्रका गोलकिपर अमृत चौधरीले गोल हुनबाट बचाए । तर ४३ औं मिनेटको सेगनको प्रहार भने उनले रोक्न सकेनन् ।
सोमबारको खेलको म्यान अफ द म्याच थ्रीस्टारका कप्तान निराजन खड्का घोषित भए । मंगलबारको खेल लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब र रुपन्देही ११ विच हुनेछ । प्रतियोगिताको अन्तिम खेल चैत २७ गते हुनेछ ।