२१ चैत, विर्तामोडः राजधानी बाहिरको सर्वाधिक राशि पुरस्कारको झापा गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब विजयी बनेको छ ।
झापा विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा आइतबारको विजयसंगै आर्मीले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेटसंगै १०÷१० मिनेटको समयमा पनि खेल बराबरीमा टुंगिएपछि खेलको नतिजा टाई ब्रकेरबाट लिनु परेको थियो । जसमा आर्मीका गोलकिपरले पुलिसका दुईवटा प्रहार रोकेपछि उसको जीत सुनिश्चित बनेको थियो ।
खेलको पहिलो हाफको ३५ औं मिनेटमा त्रिभुवन आर्मीका तर्फबाट जर्सी नम्बर ६ का हिरण्य मगरले पुलिस विरुद्ध गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको सुरुवाततिरै पुलिसका जर्सी नं १३ का हेम तामाङले गोल फर्काउँदै खेललाई पुनः बराबरीमा ल्याइपुर्याए । अतिरिक्त समयमा आर्मीका जर्सी नं १८ का नवयुग श्रेष्ठको प्रहार गोल पोस्टमा लागेर फर्केपछि सोही बललाई आर्मीकै जर्सी नं १० का भरत खवासले पुनः प्रहार गरेपछि गोलमा परिणत भएको थियो । त्यसको केही मिनेटमै पुलिसका अजित भण्डारी गोल फर्काएपछि अतिरिक्त समयमा पनि खेल बराबरीमा पुगेको थियो ।
आइतबारको खेलको म्यान अफ द म्याच आर्मीका जर्सी नं ८ का खेलाडी टंक बस्नेत घोषित भए । सोमबारको खेल थ्रीस्टार र सशस्त्र प्रहरीको एपीएफ क्लबविच हुनेछ । प्रतियोगिताको फाइनल खेल चैत २७ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउनेछन् ।