काठमाडौं । बडादसैंको सातौं दिन आज फुलपाती भित्र्याइदैछ ।
प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने चलन छ ।
आज हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।
गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा रहदै आएको छ ।