भद्रपुर । प्रधानन्यायधीस सुशीला कार्कीले महिलाहरुले स्वतन्त्र र आत्मनिर्भर भएर काम गर्ने वातावरण बने महिला हिंसाका घटनामा कमी आउने बताएकी छिन् । झापाको भद्रपुरमा सर्वाेच्च अदालतले आयोजना गरेको ‘महिलाको न्यायमा पहुँच र सरोकारवाला निकायवीचको समन्वय’ बारेको छलफल कार्यक्रममा प्रधानन्याधीश कार्कीले महिलाहरुलाई अझै पनि न्याय सेवामा पहुँच पुर्याउन धेरै काम गर्न बाँकी रहेको बताइन् ।
उनले महिला, बालबालिका तथा गरीब जनताको पहुँचमा न्याय सेवा पुगेमात्र न्यायालयको गरिमा बढने बताइन् । तर अदालतले काम गर्न खोजे पनि भने जस्तो हुन नसकेको उनले बताइन् । देशभरका अदालतहरुमा कर्मचारीहरुको कमी भएका कारण पनि भनेको समयमा र छिटो न्याय सम्पादन गर्न नसकेको कार्कीको भनाई थियो ।
उनले भनिन्, ‘अदालतमा कर्मचारी कम छन् । त्यसैले भनेजस्तो काम गर्न नसकेको परिस्थिति छ ।’ उनले कतिपय अदालतमा मान्छे हेरेर न्याय सम्पादन गरिएको भन्दै अदालतका कर्मचारीको आचरण तथा व्यवहारमा परिवर्तन आउनुपर्नेमा जोड दिइन् ।
अधिकांश हिंसा पीडित महिलाहरु न्यायको पहुँच भन्दा टाढा हुनुमा आर्थिक अवस्था मुख्य कारण भएको प्रधानन्यायधीस कार्कीले बताइन् । झापाकी महिला विकास अधिकृत इन्दिरा ओझाले महिलाका लागि न्याय सेवा विश्वासिलो नभएकाले अदालतसम्म पुग्न महिलाहरुले आँट नगरेको बताइन् । आर्थिक अवस्था कमजोर तथा अनेकौं घरायसी डर त्रासका कारण महिलाहरुले न्यायलयसम्म पाइला चाल्न असमर्थ भएको उनले बताइन् ।
सर्वाेच्च अदालतकी सह रजिस्ट्रार ममता खनालले अदालतका कर्मचारीको व्यवहार राम्रो नभएकाले महिलाहरुले न्यायका लागि अदालतसम्म आउन नसकेको उल्लेख गरिन् ।