चन्द्रनिगाहपुर । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरीले गोली चलाउँदा तीन जनाको ज्यान गएको छ । प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर घाईते बनेका उनीहरुको उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनीहरुको ज्यान गएको हो । एक जनाको अबस्था गम्भीर रहेको बताइन्छ ।
जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा २० भन्दा बढी घाइते भएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालमा प्रहरी र केही व्यक्तिहरुको उपचार भइरहेको छ।
प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनाव सिर्जना भएपछि गोली चलाउनु परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए।
बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो। प्रशासनले तीन दिनदेखि रातिमा टहराहरु भत्काइदिँदै आएको थियो। तर त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको थियो।
यता प्रहरी र सुकुम्बासीबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यु लगाएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले एक सूचना जारी गरी बुटवल उप–महानगरपालिका बडा १७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अतिक्रमण बस्ती बसाल्ने योजना बनाएकोमा आज स्थिति नियन्त्रण भन्दा गएपछि कर्फ्यु लगाएको बताए।