काठमाडौं । हनुमानढोका सङ्ग्रहालयमा रहेका सम्पूर्ण सामग्रीलाई प्रिफ्याबबाट तयार गरिएको टहरोमा राखिने भएको छ ।
भूकम्पका कारण हनुमानढोका दरबार क्षतिग्रस्त हुन पुगेपछि त्यहाँ भएका त्रिभुवन, महेन्द्र र वीरेन्द्र मेमोरियल ग्यालरी अवलोकन बन्द गरिएको छ । ती ग्यालरीमा रहेका महŒवपूर्ण सामग्रीलाई चर्किएका भवनमै राखिरहँदा सुरक्षित नहुने देखिएपछि मङ्गलबारबाट टहरोमा सारिने भएको छ ।
हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक अरुणा नकर्मीले भन्नुभयो, “क्षतिग्रस्त भवनमा त्यसै राखिरहँदा ती सामग्री असुरक्षित हुने भएकाले सुरक्षाका लागि टहरोमा सार्ने भएका हौँ । ” हनुमानढोका दरबारको पूर्वतर्फ रहेको भण्डारखाल नजिकै प्रिफ्याबको टहरो निर्माण गरिएको छ । त्यस टहरोमा आल्मुनियमका ठूला बाकसभित्र पूर्व राजाहरूसँग सम्बन्धित तथा उहाँहरूले प्रयोग गर्नुभएका ती सामग्रीलाई सुरक्षितसाथ राखिनेछ ।
मल्लकालीन हनुमानढोका दरबारका विभिन्न स्थानमा सङ्ग्रहालय राखिएको थियो । ती भत्किएका संरचनाको पुनःनिर्माण सुरु हुने मिति अझै टुङ्गो लाग्न सकेको छैन । त्यस क्षेत्रका कतिपय संरचना निर्माण गर्न विभिन्न निकायले जिम्मेवारी पाइसके पनि त्रिभुवन, महेन्द्र र वीरेन्द्र मेमोरियल ग्यालरी रहेका भवन, नौतले दरबार, चारबुर्जे भवन लगायतको निर्माणका लागि औपचारिक सम्झौता भएको छैन । सम्झौता नभए पनि चीन सरकारले बनाइदिने अनौपचारिक सहमति भएको पुरातŒव विभागका पदाधिकारीहरू बताउँछन् ।
त्रिभुवन मेमोरियल ग्यालरीमा तत्कालीन राजा त्रिभुवन २००७ साल फागुन ४ गते नयाँ दिल्लीबाट स्वदेश फिर्दा पहिरिनुभएको पोसाक, उहाँको निजी सचिवालयका सामग्री, विवाहमा पहिरिनुभएका पोसाक लगायतका सामग्री राखिएका छन् ।
त्यस्तै लोहनचोकको भवनमा रहेको महेन्द्र मेमोरियल ग्यालरीमा तत्कालीन राजा महेन्द्रले पहिरिनुभएका पोसाक, तत्कालीन मन्त्रिपरिषद् बैठकका फर्निचर, निजी सचिवालयका सामग्री, उपहार, तस्बिर लगायतका सामग्री छन् ।
नारायणहिटी दरबार हत्याकाण्डपछि बनाइएको वीरेन्द्र मेमोरियल ग्यालरीमा तत्कालीन राजा वीरेन्द्रले प्रयोग गर्नुभएको सामग्री, पोसाक, उपहार लगायतका सामग्री राखिएका छन् । त्यस्तै हनुमानढोका दरबारभित्र सिंहासन कक्ष, हातहतियार कक्ष लगायतमा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएको बन्दुक, राज्यारोहणका बखत बस्ने गरेको सिंहासन, पुराना मुद्रा आदि सामग्री राखिएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।