२० चैत, विर्तामोडः रमपम झापा गोल्डकप फुटबलको शनिबार भएको खेलमा कास्की ११ लाई ३–२ ले हराउँदै झापा ११ विजयी भएको छ । शनिबारको विजयका साथ झापा ११ प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
झापाको विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलको १० औं मिनेटमा झापा ११ का गणेश खडकाले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर १९ मिनेट बित्न नपाउँदै कास्की ११ का सुनिल लामाले हानेको गोल झापा ११ का रवि थापा मगरको खुट्टामा लागेर आत्मघाती गोल भएपछि खेल बराबरीमा पुगेको थियो । पहिलो हाफको २४ औं मिनेटमा पुनः झापा ११ दिलिप लोक्तामले कास्की विरुद्ध गोल लगाएका थिए ।
खेलको दोस्रो हाफको १० औं मिनेटमा कास्कीका तर्फबाट उत्तम गुरुङले अर्काे गोल गर्दै खेललाई बराबरीमा ल्याइपुर्याए । तर खेलको ८७ औं मिनेटमा झापा ११ का कर्ण लिम्बुले गोल गर्दै झापा ११ को जीतलाई सुनिश्चित तुल्याएका थिए । उक्त खेलमा झापा ११ का देवेन्द्र तामाङ र कास्की ११ का सुरेश तामाङले पहेंलो कार्ड पाएका थिए । शनिबारको खेलको म्यान अफ द म्याच झापा ११ का गणेश खडका घोषित भए ।
झापा ११ ले अब सेमिफाइनलमा चैत्र २४ गते एपीएफ काठमान्डौ र रुस्लान थ्रीस्टार क्लवबीचको बिजेतासंग प्रतिष्पर्धा गर्नेछ । एपीएफ र थ्रीस्टारको खेल चैत २२ गते हुनेछ । आइतबारको क्वाटरफाइनलमा नेपाल प्रहरी र त्रिभुवन आर्मी आमने सामने हुनेछन् । प्रतियोगिताको विजेता टोलीले छ लाख रुपैया“ पुरस्कार पाउनेछ भने उपविजेताले टोलीले तीन लाख रुपैया“सहित ट्रफी पाउनेछ ।