काठमाडौं । विप्लव समूहका नेता कुमार पौडेलको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालयले जाहेरी दर्ता गरेको छ ।
सर्वोच्च अदालतले पौडेलको परिवारले दिएको जाहेरी दर्ता गर्न आदेश दिएपछि प्रहरीले बुधबार १० जनाविरुद्ध जाहेरी दर्ता गरेको हो ।
जिल्ला न्यायाधिवक्ता रिद्धिसिद्धि निरौलाले हुलाकबाट आएको जाहेरीलाई सनाखत गरेर प्रहरीको जिम्मा लगाएको बताए ।
कुमार पौडेलकी आमा दुर्गादेवी पौडेलले आफ्ना छोरालाई गैरकानूनी रुपमा हत्या गरिएको भन्दै प्रहरीमार्फत जाहेरी दर्ता प्रक्रिया अघि बढाउन खोजेकी थिइन् ।
हुलाकमार्फत जाहेरीपत्र पाएको सर्लाहीको जिल्ला प्रहरी कार्यालयले विश्वसनीयता यकिन गर्न नसकेको भन्दै प्रक्रिया अघि बढाएको थिएन ।
सरकारी वकिलको कार्यालयमा समेत उनले निवेदन दिएकी थिइन् । तर सरकारी वकिल कार्यालयले पनि जवाफ नदिएपछि उनी अदालतको शरणमा पुगेकी थिइन् ।
असोज १४ गते सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासले पौडेलकी आमा दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा दिएको जाहेरी दर्ता गर्न आदेश दिएको थियो ।