बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले आफ्नो जन्मोत्सवको अवसर पारेर सोमबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार पाँच सय २५ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।
पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक समेत रहेका गिरीले महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।
हाल अस्वस्थ भइ आराम गरिरहेका गिरीले स्वस्थ भएपछि उक्त रकम एक कार्यक्रमकाबीच हस्तान्तरण गर्ने बताएका छन् ।
दर्जन बढी संघ–संस्थामा आबद्ध रहेर सामाजिक कार्यका साथै दुई दशकभन्दा अघिदेखि पत्रकारितामा सक्रिय गिरीले उपचार कोषलाई सहयोग गर्दै पत्रकारको दिगो विकास र पत्रकारको हितमा योगदान गर्न सहयोग प्रदान गर्न लागेको बताए ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषमा एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ ।
कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।
कोषमा हालसम्म ४५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए ।
कोषमा सहयोग जुट्नेक्रम जारी रहेको छ ।