१९ चैत, विर्तामोडः राजधानी बाहिरको सर्वाधिक पुरस्कार राशिको झापा गोल्डकप फुटबलको शुक्रबारको खेलमा गोर्खा व्याइज भारतलाई ३–१ गोलले हराउँदै नेपाल पुलिस क्लब विजयी बनेको छ । झापा विर्तामोडस्थित डोमालाल रंगशालामा भएको खेलको ३१ औं मिनेटमा पुलिसका जर्सी नं १२ का सुमन लामाले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
अत्यन्तै प्रतिस्पर्धात्मक रहेको खेलको सुरुवाती समयमा दुवै तर्फबाट बराबरी प्रहार भएका थिए । तर ति प्रहार गोलमा परिणत भने हुने सकेन । खेलको दोस्रो हाफको ३२ औं मिनेटमा पुलिसका जर्सी नं १९ का निरकुमार राईको पासमा जर्सी नं २ का रविन श्रेष्ठले आफ्नो टिमका लागि दोस्रो गोल गरे ।
खेलको दोस्रो हाफमै ३६ औं मिनेटमा गोर्खा व्याइज भारतका जर्सी नं १० का विवेक थापाले एक गोल फर्काएका थिए । खेलको इन्ज्युरी समयमा पुलिसका तर्फबाट जर्सी नं हेम तामाङले अर्काे गोल हालेर आफ्नो टिमलाई ३–१ अग्रता दिलाएका थिए । दोस्रो हाफमा पुलिसका निरकुमार राईले फल गरेपछि पहेंलो कार्ड पाएका थिए ।
खेलको पहिलो हाफमा एक गोल खाएको गोर्खा व्याइज दोस्रो हाफमा केही सुधारिएर खेलेको थियो । तर पुलिसका खेलाडिको आक्रमक शैलीको खेलमा उनीहरुको केही जोड चलेन । दोस्रो हाफमै गोर्खा व्याइजका जर्सी नं ८ का सुनिल गुरुङले पुलिसका खेलाडिमाथि फल गरेपछि उनलाई रेफ्रीले रातो कार्ड दिएका थिए । त्यसपछि गोर्खा व्याइज १० जनामा सिमित बनेको थियो । खेलको दोस्रो हाफमै पुलिसका खेलाडि रविन श्रेष्ठले समेत पहेंलो कार्ड पाएका थिए ।
शुक्रबारको खेलको म्यान अफ द म्याच पुलिसका सुमन लामा घोषित भए । शनिबारको खेल झापा ११ र कास्की ११ बिच हुनेछ । प्रतियोगिताको अन्तिम खेल चैत २७ गते हुनेछ । प्रतियोगिताको बिजेताले ६ लाख र उपविजेताले ३ लाख नगद पुरस्कार पाउनेछन् ।