बिर्तामोड । झापाकी एक महिलालाई जंगली हात्तीले सुँडले च्यापेर जंगलभित्र लगेको छ।
एउटा जंगली हात्तीले सुँडले बोकेर ती महिलालाई चन्द्रगढी सामुदायिक वनभित्र लगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
महिलाको शव अपरान्ह ४ बजे सोही सामुदायिक बन भित्र रहेको सेती खोलाको पैनीमा मृत अवस्थामा भेेटिएको प्रहरीले जनाएको छ।
बिर्तामोड नगरपालिका ८ की ५० बर्षिया महिला लतुमाई मर्डीलाई हात्तीले जंगलभित्र लगेको हो।
प्रहरीका अनुसार बिहीबार बिहान ११ बजेर ५० मिनेटमा भद्रपुर नगरपालिका- १० स्थित देउनियाँ नजिकैको चन्द्रगढी सामुदायिक वन भित्र बिर्तामोड नगरपालिका-८ स्थित नेपाल चोक निवासी शुकलाल मर्डी र उनकी ५० वर्षीया श्रीमती लतुमाई मर्डी निगुरो टिप्न गएका थिए। सोही बेला जङ्गली हात्तीले शुकलालकी श्रीमती लतुमाईलाई सुँडले च्यापेर जङ्गलभित्र लगेको हो।
श्रीमतीलाई हात्तीले लगेको तत्काल उनका श्रीमान् शुकलालले अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए।
महिलाको खोजीका लागि डिभिजन वन कार्यालय झापाका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी खटिएका थिए।