झापा । झापाको चारआलीमा रहेको ग्लोबल आइएमइ बैंकबाट सामान चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
चोरीमा संलग्न मेचीनगरका दुई युवा पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा मेचीनगर १३ बस्ने २३ वर्षिय संजय विश्वकर्मा र सोही ठाउँका २४ वर्षिय प्रवेश सुन्दास रहेका छन्।
गत असोज ९ गते विहानको राति मेचीनगर १३ चारआलीस्थित ग्लोवल आइएमइ बैंकको अगाडी ताला नलगाएको सटरभित्र रहेको आल्मुनियम वाल भत्काएर ल्यापटप १ थान, टिभी १ थान, कम्प्युटर मोनिटर १ थान र सीसीटिभी क्यामेरा १ थान चोरी भएको थियो।
इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट प्रहरी टोलीले गरेको अनुसन्धानपछि ती युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बजारमा जडान गरिएको सीसीटिभी क्यामेराको फुटेज हेरेपछि बैंकबाट सामान चोर्नेलाई पक्राउ गर्न सहज भएको प्रहरीको भनाइ छ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।