काठमाडौं । सार्वजनिक सावरी साधनको भाडा बढेको छ।
सरकारले शनिबार रातिदेखि लागू हुने गरी सार्वजनिक सवारीसाधनमा देशभर नयाँ भाडादर कार्यान्वयनमा ल्याएको हो।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा आएको जनाएको छ।
विगतमा सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ ।
हाल पेट्रोल र डिजलको मूल्यसमेत वृद्धि भएको छ । भाडा निर्धारण गर्दा अन्य सूचकलाई यथावत राखी क्याल्कुलेसन चार्टमा इन्धनको सूचकलाई मात्र हालको मूल्यको आधार लिई प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ ।
भाडादर समायोजन गर्ने निर्णयानुसार शनिबारदेखि लागू हुने गरी भाडादर समायोजन गरिएको विभागले स्पष्ट पारेको छ ।
नयाँ भाडादर अनुसार काठमाडौंबाट इलाम जाने यात्रुले एक हजार ६९१ भाडा तिर्नुपर्नेछ । काठमाडौं काँकरभिट्टा जानका लागि एक हजार ४७० भाडा लाग्ने भएको छ ।
विभागले देशभरका कूल २८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुबाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीसाधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको छ ।