मेचीनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देश आफैंले बनाउनुपर्नेमा जोड दिएका छन् । आइतबार मेचीनगरको ईंटाभट्टामा स्थापित एनएमसी डेरीको उदघाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले नेपाल बनाउन नेपालीले नै जोड गर्नुपर्ने बताए ।
उनले छिमेकी राष्ट्र चीनको उदाहरण दिँदै चीनका जनताले चीनलाई बनाएको बताए । नेपालको जनसंख्या भन्दा पचासौं गुणा बढी मानिस बसोबास हुने चीन बनाउन बाहिरका कोही पनि मानिस नगएको नेता ओलीको भनाइ थियो । उनले भने, ‘आफ्नो देश बनाउने दिसामा नेपाल बहुउद्धेश्यीय सहकारी संस्था जुटेको छ । यसरी नै देश बनाउने हो ।’

ओलीले जुनसुकै काम गर्दा खतरा हुने भएकाले खतरा मोलेर अगाडि बढ्न सुझाव दिए । उनले भने, ‘खतरा नमोल्ने हो भने चुप लागेर बसे भइगयो नि ।’
कार्यक्रमका विशेष अतिथि राष्ट्रिय सहाकारी संघका पूर्व अध्यक्ष दिपक बाँस्कोटाले भारतको गुजरातमा स्थापित अमूल डेरीको उपलब्धि र नीति अवलम्बन गर्न आग्रह गरे । उक्त डेरी अत्यन्तै सफल भएको समेत उनले बताए ।
कार्यक्रमलाई एमाले सांसद रविन कोइरालाले समेत सम्बोधन गरेका थिए । कार्यक्रमको सभापतित्व नेपाल बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती तथा कार्यक्रमको सञ्चालन उपाध्यक्ष लक्ष्मी उप्रेतीले गरेका थिए ।