चैत १८, विर्तामोडः विहीबारदेखि राजधानी बाहिरको सर्वाधिक राशिको झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ साङली डि एफ ए महाराष्ट्रविरुद्ध ९–० को गोल गर्दै विजयी बनेको छ ।
विर्तामोडस्थित डोमालाल रंगशालामा भएको उद्घाटन खेलको मध्यान्तरको समयसम्ममा झापा ११ ले ८ गोल लगाएको थियो । मध्यान्तरपछि झापा ११ ले १ थपी ९ गोल पुर्याएको थियो । झापा ११ को आक्रामक खेलमा साङलीको कुनै जोर चलेन । खेलमा झापा ११ को अधिकांश प्रहार गोलमा परिणत भएको थियो ।
झापामा पहिलो पटक आयोजना भएको प्रथम रमपम झापा गोल्ड कपको उद्घाटन खेलमै झापा ११ ले भारत महाराष्ट्रको साङली डिएफएबिरुद्ध गोलको बर्षा गरेको हो । झापाले खेल शुरु भएको दोश्रो मिनेटमै सुमिन मैनालीको गोलमा अग्रता लिएको थियो । कप्तान प्रवेश कटवालको पासमा मैनालीले हेड मार्फत बललाई जाली चुमाएका थिए ।
खेलमा एकतर्फी रुपमा हावी भएको झापाले पहिलो हाफमा लगातार आक्रमण जारी राख्यो । चर्चित स्ट्राइकर कर्ण लिम्बुले १३ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । झापाको टीमका लागि यसै खेलबाट डेब्यू गरेका सञ्जोग राईले खेलको १६ मिनेटमा गोल गरे । कर्ण लिम्बुले १८ मिनेटमा सुमिन मैनालीको पासमा गोल गरे । राष्ट्रिय टिममा परेर अन्तर्राष्ट्र्््््््््यि प्रतियोगिता खेलेका योगेश गुरुङ्गले २५ मिनेटमा अर्काे गोल थपेर झापाको जित पक्का गरे ।
पहिलो हाफकै २८ मिनेटमा स्ट्राइकर कर्णले हर्काे गोल थपेर ह्याट्रिक पुरा गरे । झापाका पुराना स्ट्राइकर नगेन्द्रमणी लिम्बुले ३० औं मिनेटमा वान भर्सेस वान खेल्दै गोल गरे । खेलको ३२ मिनेटमा कर्ण लिम्बुले गोल गर्दे पहिलो हाफमा ८ शुन्यको स्थितीमा खेललाई पु¥याए । पहिलो हाफमा फितलो देखिएको साङली डिएफएले दोश्रो हाफमा भने सुधारिएको प्रदर्शन गरेको थियो ।
साङलीले खेल अवधिभर एउटा मात्र आक्रमण बुनेको थियो । त्यो पनि झापाका गोलकिपर किशोर गिरीले बिफल पारेका थिए । दोश्रो हाफको ५७ औं मिनेटमा कर्णले नै आफ्नो ब्याक्तिगत पाँचौं र टिमको लागि नवौं गोल गरेका टिए । खेलपछि झापाका प्रशिक्षक भगिरथ आलेले भारतीय टिम झापा भन्दा कमजोर भएकाले जित हाँसिल गर्न सहज भएको प्रतिक्रिया दिए ।
उनले झापाले उपाधी जित्ने लक्ष्यका साथ तयारी गरेकाले पनि ठुलो अन्तरले जित निकाल्न सफ भएको बताए । त्यसैगरी साङली डिएफएका प्रशिक्षक जुबेर जमदारले झापाली टीमको खेल कौशल नबुझेको कारण पहिलो हाफमा धेरै गोल अन्तरले पछि परेको बताए । उनले प्रतिकूल मौषमका कारण आफ्ना खेलाडीले अपेक्षित प्रदर्शन गर्न नसकेको बताए ।
खेलको म्यान अफ द म्याच झापाका स्ट्राइकर कर्ण लिम्बु घोषित भए । उनले झापा ११ को साउदी अरबमा रहेका फ्यान क्लबबाट प्रायोजन गरेको पाँच हजार रुपैया प्राप्त गरे । शुक्रबारको खेल नेपाल प्रहरीका बिरुद्ध भारतको गोर्खा ब्वाइजबिच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा चर्चित फुटबल क्लवहरु लक्ष्मी हुण्डाई मनाङ मर्याङदी क्लव, रुस्लान थ्री स्टार, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, सशस्त्रको एपीएफ लगायत भारतका गोर्खा ब्वाईज, साङली डिष्ट्रिक्ट फुटबल एशोसिएशन गरि १० वटा टिमको सहभागिता रहने अध्यक्ष होम पाण्डेले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न कुल ५५ लाख रुपैँया खर्च लाग्ने बताइएको छ । प्रतियोगिताको फाइनल भिडन्त चैत २७ गते हुने छ ।
प्रथम हुने टोलीले छ लाख रुपैयाँ पाउनेछ भने दोस्रो हुने टोलीले तीन लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उद्घाटन खेलनै खल्लो भएको भन्दै अधिकांश दर्शकले गुनासो गरेका थिए । टिकट काटेर खेल हेर्न मैदान पुगेका दर्शक मध्यान्तर अघि नै भारत महाराष्ट्रको साङलीले ८ गोल खाएपछि मध्यान्तरमै अधिकांश दर्शक मैदानबाट बाहिर निस्केका थिए ।
Facebook Comments Box