विर्तामोड । बन्दको संस्कार सधैंका लागि बन्द गर्न भन्दै झापाका युवाले आइतबार विर्तामोड बजारमा दबाब र्याली निकालेका छन् । उनीहरुले ‘नेपाल खुल्ला छ, बन्द अब सँधैका लागि बन्द गरौं’ लगायतका नारा बोकेर झापाका युवा सडकमा निस्केका हुन् ।
सयौंको संख्यामा रहेका युवाले व्यवसायीहरुलाई पसल खोल्न आग्रह गर्दै विर्तामोड बजार परिक्रमा गरेका थिए । र्यालीपछि कोणसभालाई सम्बोधन गर्दै युवा सामाजिक अभियन्ता मदन बुढाथोकीले आर्थिक विकासका लागि बन्दले बाधा मात्र गर्ने बताए ।

उनले युवाहरुको अभियानमा साथ दिन व्यवसायीहरुलाई आग्रह गरेका थिए । तर उक्त कार्यक्रममा व्यवसायीहरुको उपस्थिति थिएन ।
यसैगरि दमकमा पनि विवेकशील नेपालीको नेतृत्वमा र्याली निकालियो । गणतन्त्र चौकमा एक घण्टा मौन बसेर सुरु गरिएको र्याली थाना रोड, फाल्गुनन्द चौक, बेलडाँगीरोड हुँदै दमक परिक्रमा गरी गणतन्त्र चौकमा आएर कोणसभामा परिणत भएको थियो ।