काठमाडौं । प्राडा गोविन्द केसीले चिकित्साशास्त्र अध्ययन संस्थानमा नौ महिनादेखि खाली रहेको डिन नियुक्ति नगर्नमा त्रिवि उपकुलपति तिर्थ खनियाँ संलग्न रहेको जनाउँदै उनलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।
डा.केसीले कार्तिक २८ गते आइतबार २ बजेसम्म वरिष्ठताका आधारमा संस्थानमा डिन नियुक्त गर्न र एमबीबीएस, बीडीएस कार्यक्रमको शुल्क अघिल्लो साल कार्यान्वयनमा आए जस्तै कायम गर्न तुरन्त विश्वविद्यालयहरुलाइ निर्देशन दिन आग्रह समेत गरेका छन् । यस अन्तर्गत अघिल्लो साल जस्तै एमबीबीएसको उपत्यका भित्र ३५ लाख, उपत्यका बाहिर ३८.५ लाख र बीडीएसको २० लाख कायम गर्नुपर्ने उनको माग छ ।
डा.केसीले सरकारलाई आफ्ना अन्य मागहरु पुरा गर्न १२ दिनको अल्टिमेटम समेत दिएका छन् । उनले वरिष्ठता नभई दलीय भागवण्डा तथा माफियाको इशारामा संस्थानमा डिन नियुक्त गरिए तुरुन्त आमरण अनशन शुरु गर्ने चेतावनी समेत दिएका छन् ।
नौ महिना देखि खाली राखिएका संस्थानको डिन पद सँगै हाल केही दिन यता चारवटा सहायक डिन पद समेत खाली भएर संस्थान नेतृत्व विहिन भएको औल्याउँदै डा.केसीले भने, ‘यस्तो शैक्षिक अपराध राजनीतिक कार्यकर्ता रहेका त्रिविका पदाधिकारी मुख्य रुपले उपकुलपति खनियाँले संस्थानमा राजनीतिक कार्यकर्ता र माफियाहरुलाइ नियुक्त गर्न गरेका हुन् ।’
डा.केसीले नौ बुँदे माग समेत सार्वजनिक गरेका छन् । यस अन्तर्गत चिकित्सा शिक्षा ऐन नआउँदै विस्तारित कार्यक्रम वा अन्य कुनै वहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन मान्य नहुने जनाउँदै संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्दा सुझाइएका संशोधनहरु समेट्नुको साथै माथेमा प्रतिवेदन र विगतका सम्झौताहरु अनुकूल हुने गरी पारित गरिनुपर्ने बताएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।