बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका क्षेत्रभित्र रहेका विद्यालयहरू असोज ४ गतेदेखि भौतिक रुपमा खुलाउने निर्णय भएको छ।
बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार सिवाकोटीको अध्यक्षतामा आइतबार बसेको नगर शिक्षा समितिको बैठकले सबै विद्यालयहरूलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड, विद्यार्थी सिकाई सहजीकरण कार्य ढाँचा २०७७ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको निर्देशिका पूर्ण रुपमा पालना गरी विद्यालयहरूको भौतिक रुपमा प्रत्यक्ष पठन पाठन गराउन निर्देशन दिने निर्णय गरेको हो।
बैठकले सामुदायिक विद्यालयहरूले शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न अभिभावक भेलाबाट स्वीकृत भएको अभिभावक सहयोग बाहेकका अन्य कुनै पनि प्रकारको शुल्क नउठाउन निर्देशन दिने निर्णय गरेको छ।
संस्थागत विद्यालयहरूले आफूले लिने शुल्क र अन्य आम्दानी र खर्चको सम्पूर्ण लेखा स्रेस्ता राखी खर्च र आम्दानीको विवरण तयार गरी सम्बन्धित संस्थाहरूसँग छलफल गर्ने गराउने निर्णय गरेको छ।
बैठकले सबै विद्यालयहरूलाई पाठ्यक्रम विकास केन्द्र सानो ठिमी भक्तपुरबाट स्वीकृत पाठ्यपुस्तक, सन्दर्भ सामाग्री बाहेकका कुनै पनि सामाग्रीहरू पठनपाठन नगराउन निर्देशन दिने पनि निर्णय गरेको छ।