विर्तामोड। झापाको अर्जुनधारमा ग्यास चुहिएर आगलागी हुँदा एकै घरका तीनजना घाइते भएका छन् ।
शनिबार साँझ अर्जुनधारा वडा नं ७स्थित पुष्पलाल मार्गमा रहेको रोमनाथ खनालको एक तले इँटाको पर्खाल माथि टिनको छानो भएको घरमा आग्लागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नयाँ एलपी ग्याँसको सिलिण्डर फेर्ने क्रममा ग्यास चुहिएर उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।
थापाका अनुसार आगलागीमा परी घरधनी ४२ वर्षीय रोमनाथ खनाल, उनकी श्रीमती ३८ वर्षीया दुर्गा खनाल र १८ वर्षका छोरा पंकज खनाल घाइते भएका छन्। सबैको शरीर जलेको, तर अवस्था भने सामान्य र बोल्न सक्ने रहेको प्रहरीको भनाई छ । सवैलाई उपचारकालागि विराटनगर स्थित नोवल मोडिकल कलेज लगिएको प्रहरीको भनाई छ ।
विर्तामोड नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी र स्थानीयको सहयोगमा साँझ साढे ७ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो।