विर्तामोड । भारतमा पाँच सय तथा एक हजारका नोटको विकल्प नआइन्जेलसम्मका लागि अलैंचीको किनबेच नगर्न नेपाल अलैंची व्यवसायी महासंघले किसान तथा व्यवसायीलाई आग्रह गरेको छ । शनिवार विर्तामोडमा पत्रकार सम्मेलन गर्दै महासंघले त्यस्तो आग्रह गरेको हो ।
भारतमा पाँच सय तथा एकहजारका नोटको सट्टामा अन्य नोटको व्यवस्था नहुन्जेलका लागि नेपालमा उत्पादित अलैंचीको व्यापारसमेत रोकिएको महासंघले जनाएको छ ।
भारतमा पाँचसय तथा एकहजारका नोटमा प्रतिवन्ध लागेपछि विगत तीन दिनदेखि भारतमा समेत अलैंचीको किनबेच नभएको महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए । उनले भने, ‘तीन दिनदेखि भारतमा न कुनै व्यापारीले अलैंचीको भाउ खोलेका छन् न उनीहरुको व्यवसाय नै खुलेको छ ।’
उनले पहाडमा अलैंचीको व्यापारबारे अहिले विभिन्न खाले हल्ला फिँजिएको हुनाले त्यस्तो हल्लाको पछि नलाग्न किसानहरुलाई आग्रह गरे । उनले भारतमा पाँच सय र एक हजारको नोटको विकल्पका लागि करीब एक महिना लाग्ने भएकाले किसान तथा व्यवसायीलाई अहिलेलाई अलैंची ‘होल्ड’ गरेर राख्न अनुरोध गरेका छन् ।
भट्टराईले भने, ‘एक महिनासम्मका लागि किसानलाई नआत्तिन आग्रह गर्दछु ।’
भारतका अलैंची मण्डीहरु नखुलेकाले वर्तमान अवस्थामा नेपालमा मूल्य यकिन गर्न गाह्रो हुने नेपाल अलैंची व्यवसायी महासंघका पदाधिकारी बताउँछन् । नेपालमा बार्षिक करीब पाँच हजार मेट्रिक टन अलैंची उत्पादन हुने गरेको छ । जसको ९८ प्रतिशत भारत निर्यात हुने गरेको छ ।