विर्तामोड । सहारा नेपाल साकोसले २०औं साधारणसभा भव्यताका साथ सम्पन्न गरेको छ । एक लाख पाँच हजार सदस्य रहेको पूर्वाञ्चलकै अग्रणी सहकारीको रुपमा रहेको सहाराले संस्थाको २०औं साधारण सभाको अवसरमा बिभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।
संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको प्रोफेसर मोहम्मद् युनुस सहारा पुरस्कार यस वर्ष मोरङ सुन्दर दुलारी–१ की ४७ वर्षीया दुर्गा सुवेदीलाई प्रदान गरेको छ । विगत ६ वर्षदेखि दक्षिणकाली सहारा महिला समूहमा आवद्ध सुवेदी कुखुरा पालन गर्छिन्। सुवेदीले हाल ५ सयवटा कुखुरा पालेकी छिन्। पुरस्कारको राशि ५१ हजार रुपैयाँ छ ।
आफू साकाहारी भएर पनि कुखुरा पालन गर्दै आएकी सुवेदीले पुरस्कार पाएपछि खुशी हुँदै भनिन्, ‘एकदमै दुखले जीविकोपार्जन गरेको मेरो जीवन सहाराले समृद्ध बनायो, म एकदमै खुशी छु ।’

त्यस्तै संस्थाले ‘राष्ट्रिय व्यक्तित्व सम्मान पुरस्कार’ सिएसडी नेपाल काठमाडौँका अध्यक्ष शङ्करमान श्रेष्ठलाई प्रदान गरेको छ ।
सहकारी क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको र राष्ट्रियस्तरमा सहकारी तथा लगुवित्त क्षेत्रलाई अघि बढाउन महत्वपूर्ण योगदान पुर्याउन सफल भएको भन्दै संस्थाले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो । पुरस्कारको राशी नगद रु एक लाख रहेको छ ।

त्यस्तै संस्थाले साधारण सभाको अवसर पारेर झापाका एक मात्र सगरमाथा आरोही अनिस लुइँटेललाई सद्भावनादूत घोषणा गरेको छ । लुइटेलले सगरमाथाको चुचुरोसम्म पुर्याएको सहारा साकोसको झण्डा सोही कार्यक्रममा संस्थाका अध्यक्षलाई हस्तानतरण समेत गरे ।
कार्यक्रममा मेचीनगरको हाम्रो बहुउद्धेश्यीय सहकारी र सहारा साकोस बीच एकिकरण भएको घोषणा समेत गरेको छ । हाम्रो बहुउद्धेश्यीय सहकारीका अध्यक्ष हरिचरण बानीयाँ र सहाराका अध्यक्ष ताराप्रसाद संजेलले संयुक्त रुपमा उक्त घोषणा गरेका हुन् ।
संस्थाका अध्यक्ष संजेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडाल प्रमुख अतिथि रहेका थिए । उक्त समारोहमा करीब ४ अर्व ५० करोड रुपैयाँ बराबरको करोबारको विवरण पेश गरिएको थियो । संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले एक अर्ब ९२ करोड रुपैयाँ संस्थाले बचत गरेको बताएका थिए ।