काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन्।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीनवर्षे कार्यकालका लागि आजैदेखि औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन्।
समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए।
राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा उनीलाई यही भदौ ११ गते आजदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन्।
नवनियुक्त प्रधानसेनापति शर्माले जङ्गी अड्डामा निशान भगवतीको पूजार्चना गर्नेछन्।