खबरमञ्च, बाहुन्डाँगीः पूर्वोत्तर झापाको सीमावर्ती बाहुन्डाँगीका बासिन्दाले केही समयदेखि जंगली हात्तीको आक्रमणबाट राहत पाएका छन् । करीब १८ किलोमिटर सोलार तारबार निर्माण भएपछि भारतपट्टिबाट आउने जंगली हात्तीको आतंक धेरै कम भएको स्थानीयबासीले बताएका छन् । विगतका बर्षहरुमा बाली भित्र्याउन नपाएका किसानले यसपटक भने धानबाली राम्ररी घरमा ल्याउन पाएको अनुभव सुनाए ।
भारतपट्टिबाट हुल का हुल आउने जंगली हात्ती नेपाल पस्न नसकुन् भनेर विश्व बैंकको आर्थिक अनुदानमा बनेको उक्त सोलार तारबारमा विद्युत छोड्न थालेपछि बाहुन्डाँगीमा हात्ती आतंक अहिले धेरै कम भएको स्थानीयबासी बताउँछन् ।
झापाको पूर्वोत्तर सीमावर्ती गाविसका स्थानीयबासी बर्षौंदेखि यसरी भारतपट्टिबाट आउने जंगली हात्तीको आतंकबाट पीडित छन् । जंगली हात्तीकै आक्रमणबाट धेरै मानिसको ज्यान समेत गएको छ । तर गत असार महिनादेखि सञ्चालनमा आएको सोलार तारबारका कारण समूहमा आउने जंगली हात्तीको आतंक रोकिएपछि यसपाली आफूले लगाएको धानबाली उठाउन पाएको बाहुन्डाँगी ८ देविगञ्जका किसान चन्द्रबहादुर मगरको भनाई छ ।
दक्षिणी इलामको जिर्मलेमा पर्ने दुधे खोलाबाट सुरु भएको तारबार मेचीनगर नगरपालिका वडा नं १० काँकरभिट्टा नजिक आएर टुंगिन्छ । करीब १८ किलोमिटर लामो तारबारले किसानलाई यसपटक निकै राहत दिएको अर्का किसान बुद्ध तामाङ बताउँछन् ।
१ करोड ५० लाख रुपैयाँ लागतमा बनेको उक्त तारबारको रेखदेख समुदायकै भएको बताउँछन् जिल्ला बन कार्यालय झापाका प्रमुख इन्द्र भण्डारी ।
उक्त तारबारबाट लाग्ने करेन्टले हात्ती नमर्ने तर झट्का भने लाग्ने भण्डारीको भनाई छ । विगत केही समयदेखि झापाको दुहागढी, भद्रपुर, जलथल लगायत क्षेत्रमा जंगली हात्तीको आतंक बढेको त्यस क्षेत्रका स्थानीयबासीको गुनासो छ ।