बिर्तामोड । झापाको विएण्डसी अस्पतालले विरामी दम्पतीलाई छ महिनादेखि बन्धक बनाएर राखेको भन्ने राजधानी काठमाडौंबाट प्रकाशित अखबारको समाचारले आफूहरूलाई पीडामाथि पीडा थपिदिएको बिरामी तथा उनीहरूका आफन्तले बताएका छन्।
उक्त समाचारले अस्पतालमा उपचाररत विरामी तथा आफन्तहरूले यस बिषयले आफूहरूलाई गम्भीर आघात पुगेको जनाएका हुन्।
फागुनमा ट्रकको ठक्करबाट खुट्टा गुमाएका यामबहादुर श्रेष्ठले आफूलाई अस्पतालले राखेको नभइ पिडकलाई दबाब दिनका लागि अस्पतालमै बसेको बताए।
२०७७ फागुनमा रिजाल ग्यास कम्पनीको ठूलो गाडीले दुई पांग्रे सवारी साधनलाई ठक्कर दिँदा झापाको शिवसताक्षी २ का यामबहादुर र श्रीमती सनम गम्भीर घाइते भएका थिए।
यामबहादुरको दाहिने खुटा काटिएको छ भने सनमका शरीरका विभिन्न भागमा चोट लागेको थियो।
तर, ठक्कर दिने सवारीका धनी अहिलेसम्म सम्पर्कमा नआएको र जिल्ला प्रशासन कार्यालय झापामा यस बिषयमा मुद्दा चलिरहेकोले थप दबाबका लागि आफूहरूले अस्पताल नछोडेको श्रेष्ठ दम्पतीको भनाइ छ।

अस्पतालले अहिलेसम्म आफूहरूलाई उपचार र हेरचाहमा कुनै कमी हुन नदिएको पनि उनीहरूले बताए।
गत फागुन १९ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाईमा को.१ ख १६८४ नम्बरको ट्रकले प्रदेश १–०१–००१ च ०१६७ नम्बरको कार र प्रदेश १–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
उक्त ट्रक बिराटनगरमा रहेको रिजाल ग्यासको रहेको र उक्त उद्योगका सञ्चालक नवीन रिजाल रहेको प्रहरीले जनाएको छ।
अस्पतालका अनुसार अझै ३० लाख रुपैयाँ भन्दा बढी उनीहरूको उपचारको पैसा अस्पतालले पाउन बाँकी छ। अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले पैसाकै कारण ती दम्पती अस्पतालमा बस्नु परेको नभइ कानुनी प्रक्रिया नटुंगिएकाले अस्पतालको बसाइ लम्बिएको बताए।
जिल्ला प्रशासन कार्यालय झापाले सोमबार उक्त मुद्दाको सुनुवाइ गर्दैछ।