खबरमञ्च, विर्तामोडः पूर्वी तराईमा बसोबास गर्ने सन्थाल समुदायबाट सरकारी जागिरमा प्रवेश गर्नेहरुको संख्या अत्यन्त न्यून छ । तर जतिले प्रवेश पाए कडा प्रतिस्पर्धाबाट उनीहरु सरकारी जागिर खान पुगे । उनीहरु भन्छन् सरकारी जागिर खान कडा मेहेनत नगरे आरक्षण सीटले मात्र केही हुन्न ।
टाँघनडुब्बा झापाका विश्वदिप बेश्राले गत बर्ष शाखा अधिकृत पदका लागि पहिलो पटक लोकसेवा आयोगको परीक्षा दिए उत्तीर्ण पनि भए । उनी भन्छन् सन्थाल समुदायका मानिसहरुले सरकारी सेवामा प्रवेश गर्न चाहनेले प्रयास गरे असंभव छैन ।
केही समयअघिसम्म त सरकारी सेवामा त के उच्च शिक्षा लिन समेत सन्थाल समुदायका मानिसहरुले जाँगर नदेखाउने गरेको सन्थाल अगुवाहरु बताउँछन् । तर अहिले केही सन्थाल युवा प्रतिस्पर्धा गरेर सरकारी जागिरमा प्रवेश गरेका छन् । तिमध्ये एक हुन् कन्काई नगरपालिकाका खरिदार जिशु मुर्मु । उनकी श्रीमति सुनिता सोरेन पनि कढा प्रतिस्पर्धा गरेरै दुहागढी गाविसको सहलेखापालको रुपमा कार्यरत छिन् ।
जिशु भन्छन्, ‘प्रतिस्पर्धा गर्न नसके कुनै समुदाय विशेषलाई भनेर दिएको आरक्षण कोटाले मात्र केही हुँदैन ।’
सरकारी सेवामा प्रवेश गरेका सन्थाल समुदायका मानिसहरु भन्छन् अहिलेसम्म सन्थाल समुदायबाट अत्यन्त न्यून संख्यामा सरकारी जागिरमा हुनुको मुख्य कारण अशिक्षा नै हो । सुनिता सोरेन भन्छिन्, ‘म हाम्रो समुदायका मानिसहरुलाई आफ्ना छोरा छोरीलाई स्कूल पठाउन आग्रह गर्छु ।’
सन्थाल समुदायका एकमात्र सांसद मोहन टुडुका अनुसार सरकारी जागिर खाने सन्थाल समुदायका मानिसहरुको संख्या अत्यन्त न्यून छ । तर यो पनि सन्थाल समुदायमा आएको चेतनाको परिणाम भएको उनी बताउँछन् ।
झापा मोरङ र सुनसरीमा बसोबास गर्ने आदिवासी सन्थाल समुदायका मानिसहरुको संख्या करीब ५३ हजार छ ।