बिर्तामोड । देशभर परिरहेको अविरल बर्षाका कारण कतै पहिरोले सडक अवरुद्ध भएको छ भने तराईका विभिन्न जिल्लामा बाढीले बस्ती डुवानमा परेका छन्।
अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन्। जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ। लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो ।
वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
बिहीबार बेलुकादेखि परेको अविरल वर्षाका कारणका पूर्वपश्चिम लोकमार्गको देवदह–७ शीतलनगरस्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ।
निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्यूरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका स्थानमा पानी जमेर जलमग्न भएका खबर आएका छन्।
कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का बल्मी, डुङालगायत गाउँमा गए राति दोदा नदीमा आएको बाढीले तीन दर्जन बढी घर डुबानमा परेका छन् । चुरे क्षेत्रमा भएको वर्षाका कारण नदीमा आएको बाढीले घर डुबानमा परेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा सरेका छन्।