झापा । बिर्तामोडको सैनिक मोड नजिक रहेको एक होटलमा खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर युट्यूबमा राख्ने व्यक्तिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार पक्राउ परेका तीन जनासहित ६ जना विरुद्ध शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा उजुरी परेको थियो।
पक्राउ पर्नेहरुमा युट्युबर खगेन्द्र घिमिरे, होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की रहेका इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए। फरार अन्यको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।
मेची आँखा अस्पताल अगाडिको एक होटलमा व्यक्तिगत गोपनियता भंग हुनेगरी र चरित्र हत्या गर्ने गरि आतंक सिर्जना गर्ने युटुबरसहित ६ जनामाथि उजुरी परेको थियो।
मंगलबार साँझ दुई महिला र एक पुरुषले होटलमा खाजा खाइरहेका बेला भिडियो खिचेर ती युटुबरले आतंक गरेका थिए । चारआलीका ती महिलाहरुले अरु कुनै अनैतिक काम नगरी आफ्ना मानिससँग खाजा खाइरहेको आग्रह गरेपनि दादागिरी शैलीमा ती युटुबरले भिडियो खिचेर युटुबमा हालेका थिए ।
आफ्नो चरित्र हत्या गरेको भन्दै पीडित दुई महिला र ती पुरुषले संयुक्तरुपमा उजुरी दिएका हुन् ।