झापा । नेपाल चिया विकास निगम लिमिटेड अन्तर्गतका निजी कम्पनीलाई व्यवस्थापनको जिम्मा दिइएका चिया बगान स्थानीय तहलाई जिम्मा दिइनु पर्ने झापा र इलामका ६ वटा स्थानीय तहले माग गरेका छन्।
झापाका टोकला, बर्ने र बाह्रदशी चिया बगान, इलामका कन्याम, इलाम चिया बगान, सोक्तिम र चिलिम्कोट चिया बगान स्थानीय तहलाई जिम्मा दिइनु पर्ने विषयमा झापाका मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिका तथा इलामका इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइ नगरपालिकाले त्यस्तो माग अघि सारेका हुन्।
सोही विषयमा गत साउन १८ गते इलामको सूर्योदय नगरपालिकामा ६ वटा स्थानीय तहका प्रमुखहरूको बैठक बसेको थियो। त्यसैको निरन्तरमा बुधबार झापाको बुद्धशान्ति गाउँपालिकामा पनि बैठक बस्यो।
बैठकले मन्त्रिपरिषदको कार्यालयलाई सम्बोधन गरेर एउटा निवेदन तयार गरेर संघीय सरकारलाई ती बगान स्थानीय तहलाई जिम्म दिइनुपर्ने माग गर्ने निर्णय गरेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए।
उनले भने, ‘व्यवस्थापनको जिम्म पाएको त्रिवेणी समूहले अहिलेसम्म स्थानीय तहलाई तिर्नुपर्ने कुनै पनि कर तिरेन। अहिलेको बद्लिँदो परिस्थितिमा अब ती बगानको जिम्मा हामीलाई दिइनुपर्छ।’
चिया बिकास निगमले सम्झौता बमोजिम र श्रम ऐन अनुसार चिया बगानका कर्मचारी र श्रमिकलाई नियुक्ति तथा सेवा सुबिधा नदिएको, श्रमिकलाई आवास, बालबच्चाको शिक्षा, स्वास्थ्य लगायतका आधारभूत कुरामा ध्यान नदिएको, बगान संचालकले स्थानीय सरकारलाई बुझाउनु पर्ने भूमिकर र अन्य राजश्व समेत नतिरेर लापर्बाही गर्ने गरेको बुधबारको बैठकले निष्कर्ष निकालेको छ।