विर्तामोड । चारपानेका ६७ बर्षिय श्यामकुमार प्रधानको दैनिकी बिशालु सर्प समाउँदैमा बित्ने गरेको छ । यिनी व्यवसायिक सपेरा होइनन् तर सजिलैसंग सर्प समाउँछन् । यिनै प्रधानको २२ बर्ष यताको दिनचर्या सर्प समाएर सुरक्षित स्थानमा छोड्दैमा बित्ने गरेको छ ।
प्रधानले झापामा पाइने गोमन, करेत, राजासाप लगायत बिशालु सर्प समाएर नजिकैका सामुदायिक बनमा छोड्न थालेको २२ बर्ष बितेछ । यसबीचमा उनले लगभग धेरै बिशालु सर्प जंगलमा छोडेको सुनाए ।

‘प्रकृतिले सबैको साझा पृथ्वी हामीलाई प्रदान गरेको हो, उनले भने, ‘हामीलाई असर पार्छ भन्दैमा किन मारिहाल्ने? उनले प्रश्न गर्दै भने, ‘सम्पूर्ण जनावारको बाँच्न पाउने हकको सबैले सम्मान गर्नुपर्छ, अर्को कुरा पर्याबरणीय सन्तुलनको लागि बिशालु सर्पको भूमिका महत्वपूर्ण हुन्छ ।’
उनले बालीनालीमा पाइने हानीकारक किराहरु बिशालु सर्पले खाएर वातावरणीय सन्तुलन कायम राख्न मदत पुर्याउने दावी समेत गरे । गोमन मध्येपनि कालो गोमन धेरै आक्रामक हुने उनको अनुभव छ । ‘आक्रामक हुने भएकाले मान्छेले मार्ने भएका कारण पनि यो लोप हुदैछ , उनले भने, ‘ २० वटा भन्दा बढी सेतो गोमन समातेपछि मात्र एउटा कालो गोमन फेला पर्छ ।’
सकेसम्म थाहा भएको र खबर गरेको ठाँउमा सर्प फेला परे उनी गएर समाउने गरेका छन् । उनको घरदेखि १५ किलोमिटर टाढासम्म गएर सर्प समाएको अनुभव उनीसँग छ । उनले भने, ‘यहाँदेखि सुरुङ्गासम्म गएर सर्प समाएर ल्याएको छु , कहिले काँही राती १२ बजे फोन आउछ म निन्द्रा पनि नभनी गएर समाएर ल्याउने गरेको छु ।’ अहिले त धेरैले उनलाई ‘सर्पवाजे’ समेत भन्न थालेको उनी सुनाउछन् ।
