उर्लाबारी । मोरङको उर्लाबारी क्षेत्रमा डेंगुबाट संक्रमित हुनेको संख्या पाँच पुगेको छ । उर्लाबारी–६ स्थित मंगलबारे अस्पतालका अनुसार बुधबार थप एक जनामा डेंगु संक्रमण पुष्टी भएपछि संक्रमितहरुको संख्या पाँच पुगेको हो ।
बुधबार पथरीशनिश्चरेका–८ का विक्रम सुनारलाई डेंगु संक्रमण पुष्टी भएको मंगलबारे अस्पतालले जनाएको छ ।
यसअघि उर्लाबारी–१ की रामकुमारी राई, कमला श्रेष्ठ, उर्लाबारी–४ की सरिता थापा र लक्ष्मी साहको रगत परीक्षणमा डेंगु संक्रमण भेटिएको थियो ।
ज्वरो आएपछि मंगलबारे अस्पतालमा र गोदावरी अस्पतालमा उपचारका लागि पुगेका उनीहरुमा डेंगु संक्रमण देखिएपछि जिल्ला जनस्वास्थ्य मोरङको टोलीले रगत परीक्षण गरेको थियो ।
चिकित्सकका अनुसार एडिस एजेप्टाई जातको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगु सर्छ ।
यसैबीच उर्लाबारी क्षेत्रमा डेंगुका बिरामी फेला परेपछि उर्लाबारी नगरपालिका, मंगलबारे अस्पताल र जिल्ला जनस्वाथ्य कार्यालले संयुक्त रुपमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ ।
अभियान अन्तर्गत बुधबार साँझ उर्लाबारीको ३ र ४ नम्बर वार्डमा विषादी छर्किएको थियो ।