बिर्तामोड । प्रतिबन्धित लागूऔषधसहित झापाबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
झापाको भद्रपुर ३ किचकबध इलाकाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत बिहारको ठाकुरगंज बस्ने २८ वर्षिय श्रवण राय र भद्रपुर ३ बस्ने २४ वर्षिय खेमराज कुँवर रहेका छन्।
शनिबार दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय झापा र सीमा प्रहरी चौकी पृथ्वीनगरको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
भारतबाट नेपालतर्फ शंकास्पद अवस्थामा आउँदै गरेका रायलाई चेकजाँच गर्दा उनको साथबाट २१.२६० ग्राम ब्राउनसुगर बरामद भएको थियो। त्यसैगरी भद्रपुर ३ हातिमाराबाट कुँवरको साथबाट इस्कफ – ३ बोतल र नाइट्रोसन ट्याब्लेट १० वटा बरामद गरी दुवैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिप्रका झापामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।