काठमाडौं । मुस्ताङ पनि १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने जिल्ला बनेको छ ।
१८ वर्ष भन्दामाथिका सबै नागरिकलाई खोप लगाउने पहिलाे जिल्ला मनाङ बनेको थियो ।
यद्यपि मनाङमा कोभिशिल्डको दोस्रो खोप लगाउन १६५ जना बाँकी रहेकोले मुस्ताङ पूण खाेप लगाउने पहिलाे जिल्ला बनेकाे हाे ।
स्वास्थ्य कार्यालय मुस्ताङका अनुसार जिल्लाका १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकलाई खोप दिइएको हो ।
मुस्ताङमा विभिन्न क्षेत्रमा काम गर्न बाहिरी जिल्लाबाट पुगेका २१३ नागरिकलाई पनि खोप दिइएको स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
योसँगै मुस्ताङमा पूर्ण खोप पाउनेको संख्या ९ हजार ५१३ रहेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जोनसन एण्ड जोनसनको खोप लगाउने ६ हजार ७२१, भेरोसेल खोपको पूर्ण डोज लगाउने ३२० र कोभिशिल्ड खोपको पूर्ण डोज लगाउने २ हजार ४७२ जना छन् ।
मुस्ताङमा कोरोना संक्रमणको दोस्रो लहरमा ५२५ जना संक्रमित भएका थिए । जसमध्ये १५ जनाको मृत्यु भएको थियो । अहिले २३ जना सक्रिय संक्रमित छन् ।
मुस्ताङमा गत १४ माघदेखि खोप अभियान सुरु भएको थियो ।