बिर्तामोड । झापाको विभिन्न स्थानबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
सोमबार बेलुका ६ बजे गौरीगञ्ज गाउँपालिका ६ जनता चौकबाट इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका १ का २० बर्षीय सुरेश ताजपुरियालाई लागूऔषध ट्रामाजेक १५० क्यापसुल, नाइट्रोभेट २६ क्याप्सुल र कोरेक्स १ बोतलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
सोमबार बेलुका पौने ८ बजे मेचीनगर नगरपालिका २ स्थित भृकुटी चोकमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउँदै गरेको डब्लुबी ७४ आर ६५०४ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा उक्त मोटरसाइकलको भाइजरमा लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध ब्राउनसुगर १ ग्राम फेला परेपछि मोटरसाइकलमा सवार मेचीनगर नगरपालिका १ का २१ बर्षीय सुलन देवान र पछाडी सवार सोही स्थानका २० बर्षीय मिङमा तामाङलाई पक्राउ गरिएको हो।
पक्राउ परेका तीनै जना उपर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।