धुलाबारी ।केही समय अघि किराना पसलमा आगलागी भएका आफ्ना सदस्य दिलिप शाहलाई मेची उद्योग वाणिज्य संघले राहत स्वरुप ६५ हजार रकम आज हस्तान्तरण गरेको छ ।
संघको सभाहलमा आज आयोजित राहत रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा र संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ्गले संयुक्त रुपमा उक्त राहत रकम अग्नी पीडित ब्यवशायी शाहलाई हस्तान्तरण गरेका थिए । वाणिज्य संघले गत बर्षबाट शुरुवात गरेको ब्यवशाय राहतकोष मार्फत उक्त रकम हस्तान्तरण गरिएको संघका अध्यक्ष नेम्वाङ्गले बताए ।
संघले स्थापना गरेको राहत कोष मार्फत आगलागी, भुकम्प, बाढी लगायतका प्रकोपबाट हुने क्षतिमा राहत उपलब्ध गराउने ब्यवस्था गरिएको संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले जानकारी दिए । मेची उद्योग वाणिज्य संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ्गको सभापतित्वमा सम्पन्न राहत रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले वाणिज्य संघले संचालन गरेको राहतकोषमा नगरपालिकाको तर्फबाट समेत कानून बमोजिम मिल्ने गरी रकम थप गरिदिने बताएका छन ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्र कुमार खड्का, संघका निवर्तमान अध्यक्ष बिजय डालमिया र रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौलाले यस खाले कार्यले वाणिज्य संघ आफ्ना सदस्यहरुको पीडामा सहयोगी छ भन्ने बिश्वस्त बनाएको बताएका थिए ।
वाणिज्य संघले १० लाखको ब्यवशाय राहतकोष स्थापना गरेको छ । उक्त कोषको ब्याजबाट बार्षिक रुपमा संघका सदस्यहरुमा परेको प्रकोपमा राहत उपलब्ध गराउँदै आएको छ । राहत रकम हस्तान्तरण कार्यक्रम संघका बरिष्ठ उपाध्यक्ष ललित तामाङ्गले स्वागत तथा महासचिब ऋषिराज तिम्सीनाको सञ्चालनमा सम्पन्न भएको थियो ।