बिर्तामोड । सिद्धान्ततः सरकारका लागि नागरिक सबै उतिकै हुन्। सरकारले हर्ने दृष्टिकोण एउटै हुनु पर्ने हो। तर नेपालको बिडम्बना, हुनेखानेका लागि सरकारले काम गरिदिने तर हुँदाखानेका लागि सरकार नै नभएको जस्तो।
नेपालमा तीन तहका सरकार छन्। स्थानीय सरकारले स्थानीय जनताका माग र आवश्यक्तालाई सकेसम्म सम्बोधन गर्ने हो। तर, झापाको बिर्तामोड नगरपालिकाले ‘सुकिला-मुकिला’हरूका घर तथा पसलबाट निस्केका फोहोर संकलन गरेर गरीब जनताका घुरेनमा गाडिरहेको छ।
फोहोर गाडिएको स्थान वरपरका बासिन्दा भात पनि भातकै स्वादमा खान पाउँदैनन्। भात खाँदा पनि त्यही फोहोरको गन्धसंगै खानुपर्छ। केही समय अघिसम्म त मानव बस्ती भन्दा धेरै पर फोहोर व्यवस्थापना गरिने गरिएको थियो। अहिले घरकै बलेँसीमा फोहोर गाड्न थालिएपछि स्थानीयबासी दिक्क भएका छन्।
स्थानीयबासी अजमेरा खातुन भन्छिन्, ‘नेताहरूकै अगुवाइमा हाम्रा घरको बलेंसीमै फोहोर थुपार्न थालियो। हाम्रा कुरा कसैले सुन्दैन।’
बिर्ताबजार भन्दा पश्चिममा रहेको डोमालाल राजवंशी रंगशाला पश्चिमपट्टि नगरपालिकाले फोहोर गाड्दैछ। अलि-अलि खनेर गाडेको फोहोरबाट घाम लागेपछि गन्ध यति आउँछ कि त्यो गाउँ नै दुर्गन्धित हुन्छ। मानौं ‘त्यहाँ बस्ने मान्छेलाई जे गर्दा पनि हुन्छ, जे सुँघाइदिए पनि हुन्छ।’
स्थानीयबासी भादु मियाले खबरमञ्चसंग दुःखेसो पोख्दै भने, ‘समस्या लिएर नगरपालिका गयो भने हामीलाई नै उल्टा हेप्छन्।’ स्थानीयबासीले केही दिन लगातार ढाट लगाउने कोशिस गरे। तर उनीहरूको केही उपाय लागेन। आखिर सरकार हो, ‘निमुखालाई त हेप्नै पर्यो नि।’
नगरपालिकाले भने यो विषयलाई गम्भीर मानेको छैन। मानेको भए त्यो मानव बस्तीका बासिन्दालाई यसरी यातना दिने थिएन। अनि ‘यी स्थानीयबासीले रात दिन फोहोरको गन्ध सुँघेर बस्नुपर्ने?’ प्रश्न राख्दा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीले स्थानीयबासीको पीडा स्वाभाविक भएको बताए।
उनले भने, ‘हामीसंग फोहोर व्यवस्थापन गर्नका लागि जग्गा छैन। गन्ध आएकै हो भने माटो अझै लगेर पुरिदिन्छौं।’


