![]()
काठमाडौं । एमाले र माओवादी केन्द्रका नेताहरुमाथि कारवाही प्रक्रिया थालेकाले आफूमाथि महाभियोग लगाएको भन्ने लोकमानसिंह कार्कीको भनाईको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक रुपमा खण्डन गरेको छ। आयोगले सोमबार एक विज्ञप्ति सार्वजनिक गरि कुनै नेताहरुमाथि छानविन नभएको र भएको भए पनि त्यसलाई अत्यन्त गोप्य राखिने जनाएको छ। यो खबर आजको कान्तिपुरबाट लिएका हौ।
‘आफूले केही दलका नेताहरुमाथि भ्रष्टाचारको मुद्दा अघि बढाउन थालेकाले महाभियोग लागेको भनेर लोकमानजीको टिमले प्रचारबाजी गर्न थालेको रहेछ,’ अख्तियारका एक आयुक्तले भने, ‘तर आयोगमा त्यस्तो प्रकृतिको कुनै पनि फाइलको विस्तृत अनुसन्धान समेत नभएकाले झुटो प्रचारबाजीलाई चिर्नुपरेको हो।’
निलम्बित अवस्थामा रहेका लोकमानले केही सञ्चारमाध्यममा आफूले कारवाही प्रक्रिया अघि बढाएको भन्दै माओवादी केन्द्र र एमाले नेताहरुको सूची समेत सार्वजनिक गरेका थिए। अख्तियारले सोमबार प्रकाशित गरेको विज्ञप्तिमा सामाजिक सञ्चाल र अन्य माध्यममा प्रकाशित सूची यथार्थपरक नभएको बताइएको छ। आयोगले सार्वजनिक पदमा रहेका जो कोहीमाथि छानविन गर्नसक्ने भए पनि प्रचार गरिएको विवरणमा भने सत्यता नभएको आयोगले स्पष्ट पारेको छ।