बिर्तामोड । झापाको बिर्तामोडमा सोमबार बिहान अर्धनग्न अवस्थामा मृत फेला परेकी २५ वर्षीय सृजना बस्नेतको मृत्यु शंकास्पद बनेको छ।
बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तरमा आफू बसेकै घरको आँगनमा बस्नेतको शव फेला परेको थियो। धरानबाट ल्याइएको कुकुरले शव सुँघेर घरभित्र पसेपछि अनुसन्धानको सुइरो घरभित्र सोझिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन्।
परिवारका सदस्यका अनुसार बस्नेत राति आफ्नै कोठामा सुतेकी थिइन् । चार तले घरको माथिल्लो तलामा बस्ने ती युवतीको शरीरमा भित्री कपडा मात्रै भएको अवस्थामा शव भेटिएको थियो।
बस्नेत सुतेको कोठा बाहिरबाट ताल्चा लगाइएको थियो। उनको शव त्यही कोठाको मुनी फेला परेको हो।
घरको चारै तलामा तलैपिच्छे ताल्चा लगाइएको र सबैभन्दा मुनीको मुख्य गेटमा समेत भित्रैबाट ताल्चा लगाइएको प्रहरीले जनाएको छ।
बस्नेतको शवलाई परीक्षणका लागि धरान पठाइएको छ। पोस्टमार्टमको रिपोर्ट, कुकुरको अनुसन्धान र मोवाइल फोन ट्र्याकिङ पश्चात अनुसन्धानले गति लिने प्रहरीको भनाइ छ।