बिर्तामोड । प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन, सरकार आफैंले सञ्चालन गर्न वा सँधैका लागि बन्द गर्ने विषयमा ठोस निर्णय लिन प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन्।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पटक-पटक आफ्नो मेडिकल कलेजलाई सम्बन्धनका लागि प्रयास भए पनि अवरोध सिर्जना भइरहेको भन्दै प्रसाईंले यस्तो माग गरेका हुन्।
‘सम्पूर्ण मापदण्ड पूरा गरेको, विश्वविद्यालयले सम्बन्धनको सहमति प्रदान गरी सिट संख्या निर्धारणको अनुरोध गरेको, सम्बन्धनको सिफारिस शुल्क समेत बुझाइसकेको अवस्थामा समेत विभिन्न बहानाबाजी गरी आलटाल गर्ने, झुक्याउने, धम्की दिने र काम पन्छाउने परिपाटी भइरहेको छ,’ प्रसाईंले पत्रकार सम्मेलनमा भने, ‘अनन्त समयसम्म यस्तो व्यवहार राज्यका तर्फबाट हुनु भनेको नागरिकमाथि घोर अन्याय हो।’
प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कारबाही गर्नसमेत प्रधानमन्त्रीसँग माग गरेका छन्।
‘सम्माननीय प्रधानमन्त्री तथा माननीय शिक्षा मन्त्रीलाई अनावश्यक आरोप र आक्षेप लगाई आफू बालुवाटारमा ६ घण्टासम्म बन्धक बनाइएको, जिउ ज्यान नै जोखिममा परेको, धाकधम्की दिएको, बल्ल तल्ल बाँचेर आएको भन्दै हिँड्ने उहाँले राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को कार्यान्वयनमा अवरोध खडा गर्ने कार्य निरन्तर गरिरहनुभएको छ,’ उनले भनेका छन्, ‘उहाँलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा २२ को ४ अनुसार स्पष्टीकरण सोधी कारबाही अगाडि बढाउन प्रधानमन्त्रीसमक्ष अनुरोध गर्दछु।’
चिकित्सा शिक्षा आयोगको बैठकबाट जेठ २८ गतेको बैठकले डा. प्रकाशराज पाण्डे संयोजक र सदस्यमा डा.भोजराज अधिकारी, प्राडा. रमेशप्रसाद आचार्य र सेमन्तराज कोइराला भएको निरीक्षण तथा अनुगमन टोली पठाए पनि चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले आजको मितिसम्म रिपोर्ट पेश गरी सम्बन्धन अगाडि नबढाएको भन्दै उनले आपत्ति जनाए।
आफ्नो मेडिकल कलेजको अध्ययन टोलीमा गिरीले उनकै मुद्दामा साक्षी बनाएका व्यक्ति पठाएको भन्दै प्रसाईंले सम्बन्धनमा बाधा पार्नका लागि गिरीले अनेक तानाबाना बनाएको आरोप लगाए।