भादगाउँ । बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरु समाउने र यौनाङ्गसमेत देखाइ अभद्र व्यवहार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले रामेछापको सुनापति गाउँपालिका–५ रुपाकोट घर भइ चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमारसिंह तामाङलाई पक्राउ गरेको हो।
तामाङले गत पुसयता दर्जनौँ महिला तथा बालिकालाई दुर्व्यवहार गरेको प्रहरीको आरोप छ। तामाङले १४ वर्षीया बालिकादेखि ६० वर्षीया महिलासमेतलाई दुर्व्यवहार गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी बताए।
तामाङले मोटरसाइकलमा सवार भइ एकान्तस्थानमा पैदल हिँडिरहेकी महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरुमा समाउने र छातीलगायतका अङ्गहरुमा हिर्काएर भाग्ने गरेको खुल्न आएको प्रनाउ थापाले बताए।
तामाङलाई पक्राउ गरेको खबरपश्चात एक दर्जनभन्दा बढी पीडित महिला बुधवार प्रहरीको सम्पर्कमा आएको र त्यसमध्ये छ जनाले किटानी जाहेरीसमेत दिएका छन्।