बिर्तामोड । झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन् ।
झापाको इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ ६ बजे दमक नगरपालिका-५ घर भई शिवसताक्षी नगरपालिका-९ बस्ने २२ बर्षीय निगम लिम्बुलाई लागूऔषध ट्याब्लेटसहित पक्राउ गरेको हो।
मे ६ प ७५६९ नम्बरको स्कुटरमा सवार रहेका लिम्बुलाई रोकेर चेकजाँच गर्ने क्रममा लिम्बुको साथबाट नियन्त्रित लागूऔषध डाईजेपाम ९९ ट्याब्लेट र फेनारागन ९९ ट्याब्लेट बरामद भएको थियो।
यसैगरी सुनसरीको धरान उप-महानगरपालिका-८ बाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन्।
बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय बिमल भुजेल र धरान-१५ का ४१ बर्षीय आइतराज लिम्बुलाई तिन ग्राम ब्राउनसुगर र १ बोतल डाईलक्स डि.सी. सहित पक्राउ गरेको हो।
लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।