झापा । झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कृषि व्यवसायमा संलग्न आफ्ना शेयर सदस्यहरुका लागि उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिम दिएको छ ।
संस्थाको कार्यक्षेत्रका सबै सेवा केन्द्रबाट छानिएर आएका तीन–तीन जना शेयर सदस्यहरुका लागि फागुन २९ देखि चैत २ गतेसम्म तालिम दिइएको हो ।
संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिका संयोजक मेहरमान विष्टको अध्यक्षतामा विशेष कार्यक्रमकाबीच तालिम सञ्चालन गरिएको थियो ।
उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिमको उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सुवास भट्टराईले सुन्दा सजिलो लागे पनि पशुपालन व्यवसाय त्यति सहज नभएको प्रष्ट पारेका थिए ।
उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिमको सहजीकरण प्रगति बोयर बाख्रापालन फर्म हल्दिबारी १ गोलधापका सञ्चालक गणेश पराजुली र सतासी महिला मौरीपालन सहकारी संस्था दूधेका प्रतिनिधिले गरेका थिए ।